कञ्चनपुरको पुनर्वासमा कृषि र पशु बिकासमा आधारीत “साना किसान युवा उद्यमशीलता विकास कार्यक्रम” लागु भएपछी झण्डै २ हजार घरधुरी लाभान्बीत भएका छन् । पुनर्वास नगरपालिका, हेफर प्रोजेक्ट नेपालको साझेदारीमा निड्स नेपालद्धारा ८० वटा महिला स्वावलम्बन समूह नै बनाएर पालिकाको ११ वटा वडामा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । उक्त कार्यक्रम लागु भएपछी समुहका सदस्यहरुलाई आधारशिला तालीम दिनुका साथै महिलाहरूलाई आत्मनिर्भर बनाउन व्यवसायिक तरकारी खेती तर्फ पनि जोड दिएको छ । कार्यक्रम मार्फत झण्डै २ सय ५० परिवारलाई बाख्रा र बोका वितरण गरिसकेको छ । कार्यक्रम मार्फत १ सय २ घरधुरीलाई तरकारीको बिउ वितरण गरिएको छ भने २५० घरधुरीलाई घाँसको बिउ वितरण गरिसकेको छ । यस्तै व्यवसायिक तरकारी खेती गर्नका लागि ५० घरधुरीलाई टनेल, र प्लास्टिक मल्चिङ वितरण गरिसकेको पुनर्वास नगरपालिकाले जनाएको छ। पुनर्वासमा कृषि र पशु बिकासमा आधारीत  “साना किसान युवा उद्यमशीलता विकास कार्यक्रम” लागु भएपछि पुनर्वास ७ र २ मा बस्दै आएका अत्री राना र शर्मिलाको जीवनमा पनि केही परिवर्तन भएको छ । उनीहरूको जीवनमा आएको व्यावसायिक परिवर्तनका कामलाई कथा मार्फत प्रस्तुत गरेके छौ ।

पुनर्वास नगरपालिका– ७ स्थित पराशन गाउँको एक सामान्य किसान परिवारकी सदस्य अत्री राना अहिले आफ्नो गाउँमा सफल महिला कृषकको रूपमा चिनिन्छिन् । बिहानै देखि खेतबारीमा पसिना बगाइरहेकी अत्रीलाई भेट्न हामी उनको बारीमै पुग्यौं । खेतबारी गोडमेल, झाडी सरसफाइ, सिंचाइ, बीउ रोप्ने देखि तरकारी संकलन सम्मका काममा उनलाई भ्याइ न थियो । तर त्यही मेहनतको फलस्वरूप आज उनी आत्मनिर्भर जीवन बाँचिरहेकी छन् ।

अत्री बाख्रापालक स्वालम्बी महिला समूहसँग आबद्ध भएपछि उनको जीवनशैलीमा आमूल परिवर्तन आएको छ । पहिले पनि उनी तरकारी खेती गर्थिन्, तर समूहमा आवद्ध भएपछि उनले व्यवसायिक दृष्टिले खेती सुरु गरेकी छन् । अहिले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरिरहेकी अत्रीले घर खर्च, बालबच्चाको पढाइ र आवश्यक किनमेल सबै तरकारी खेतीकै आम्दानीबाट धानिरहेकी छन् । अझ, केही बचत समेत गर्न सफल भएकी छिन् । उनको कथा यत्तिमै सकिँदैन । अत्रीले खेतीबारीको फुर्सद नपाए पनि बिहानै उठेर गाउँ-गाउँमा आफैंले उत्पादन गरेको तरकारी बेच्न जान्छिन् । बजार अभाव भने उनको प्रमुख चिन्ता बनेको छ। तरकारी त राम्रै फल्छ, उनी भन्छिन्, तर बेच्ने ठाउँ पाउन गाह्रो छ, बजारको व्यवस्थापन गर्न सके अझ राम्रो हुने थियो ।

यस्तै अर्को प्रेरणादायी उदाहरण हुन्, पुनर्वास–२ मोती बस्तीकी शर्मिला चौधरी । स्नातक तहसम्म अध्ययन गरेकी शर्मिला अहिले स्वालम्बी महिला समूहकी सचिव हुनुका साथै, कृषि, पशुपालन र पारिवारिक जिम्मेवारीमा समेत उत्तिकै सक्रिय छिन् । उनले तरकारी खेतीसँगै बाख्रा, कुखुरा, बङ्गुर र भैँसी पालन पनि गर्दै आएकी छन् । अहिले तरकारीको बेर्ना राख्ने र तरकारी रोप्ने सिजन भएकाले उनको बारीमा काउली, बन्दा, खुर्सानी, टमाटर, भिन्डी, भेँटा, मुला, धनियाँजस्ता तरकारीहरू केही रोपिसकेकी छन् भने केही उम्रिँदै छन् । तर उनी पनि अत्रीको जस्तै गुनासो गर्छिन्, बजार व्यवस्थापन छैन, फलाएको तरकारी कसरी बेच्ने? शर्मिला भन्छिन्, पढेलेखेका धेरै मान्छे खेतबारीमा काम गर्न लाज मान्छन्, तर पढेको मान्छेले त झन् वैज्ञानिक र व्यवस्थित रूपमा खेती गर्न सक्छ ।

उनी युवाहरूलाई आत्मनिर्भर बन्न आग्रह गर्छिन्, बेरोजगारीको गुनासो नगरौं, माटोमै सुन फल्छ, त्यसको मूल्य चिन्न सिकौं । अत्री र शर्मिला दुबै महिलाको कथा आत्मनिर्भरताको प्रतिक हो । माटो, पसिना, सीप र संकल्पले बदलिएको उनीहरूको जीवन आज अरूलाई पनि प्रेरणा दिने स्रोत बनेको छ । सहयोगी परिवार, कृषि समूहको समर्थन, र आफ्नो मेहनत नै उनीहरूको सफलता पछाडिको मूल रहस्य हो । यदि स्थानीय तह र सरकारी निकायहरूले बजार व्यवस्थापन, मूल्य स्थायित्व र सिँचाइको सुविधामा थप सहयोग गर्न सके, यी महिलाहरूको प्रयास अझ व्यापक स्वरूप लिन सक्छ ।