कञ्चनपुरको पुनर्वास–११ स्थित रामजानकी टोलका किसानहरु यतीबेला रासायनिक मलको विकल्पको रुपमा गड्यौले मल उत्पादनमा लागी परेका छन् । तरकारी खेती गर्दै आएका सो क्षेत्रका किसानहरुले पहिले पहिले रासायनिक मल प्रयोग गर्दै आएका थिए । तर अब भने सो क्षेत्रका किसानहरुले समुह नै बनाएर गड्यौले मल उत्पादन र प्रयोग गर्न थालेका छन् ।

पुनर्वासमा कृषि र पशु बिकासमा आधारीत “साना किसान युवा उद्यमशीलता विकास कार्यक्रम” लागु भएपछी पुनर्वास–११ स्थित रामजानकी टोलमा गड्यौले मल उत्पादन र प्रयोग सूरु गरीएको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बताउनुभयो । पुनर्वास नगरपालिका, हेफर प्रोजेक्ट नेपालको साझेदारीमा निड्स नेपालद्धारा चौधरी स्वालम्बी महिला समुह बनाएर उक्त काम गरीएको उहाँ बताउनुहुन्छ । कार्यक्रम मार्फत त्यती मात्र नभएर समुहका सदस्यहरुलाई आधारशिला तालीम दिनुका साथै महिलाहरूलाई आत्मनिर्भर बनाउन व्यवसायिक तरकारी खेती तर्फ पनि जोड दिएको छ । यस्तै बाख्रा र बोका वितरण, तरकारी, घाँसको बिउ, टनेल, र प्लास्टिक मल्चिङ वितरण गरिएको नगर प्रमुख शर्माले बताउनुभयो ।

आफुहरुले बर्षौ देखी तरकार खेती गर्दै आएको र तरकारीमा रसायनिक मल प्रयोग गर्दै आएको चौधरी स्वालम्बी महिला समुहका अध्यक्ष सुशीला चौधरीले बताउनुभयो । तर अबभने आफुहरु लगायत टोलमा नै गड्यौले मल उत्पादन सूरु गरीएकाले रसायनिक मल प्रयोग गर्न नपर्ने बताउनुभयो ।

यस्तै समुहकी कोषाध्यक्ष चञ्चला चौधरीले घरमै उत्पादन भएको मललाई आफैँले खेतबारीमा प्रयोग गर्नुका साथै बिक्री गर्ने लक्ष्य राखेको बताउनुभयो । अब देखी आफ्नो तरकारी बारीमा समेत प्रयोग गर्ने तयारीका साथ मल उत्पादन गरीरहेको उहाँ बताउनुहुन्छ ।

दैनिक जीवनमा उत्पादन हुने कुहिने फोहरलाई गड्यौले अर्गानिक कम्पोष्ट मलमा परिणत गर्ने गर्छ । खेतबारीमा रासायनिक मल तथा विषादीको प्रयोगमा निरुत्साहित गर्दै अर्गानिक कम्पोष्ट मल बनाउन किसानलाई प्रेरित गर्दै गड्यौला पालनका लागि आवश्यक सामग्री, तालिम तथा गड्यौला वितरण गरिएको फिल्ड सहजकर्ता मानबहादुर रानाले बताउनु भयो ।

लगानी र मेहनत कम लाग्ने तर गड्यौला र मल दुवै बिक्री गरेर दोहोरो फाइदा लिन सकिने भएकाले पनि यसतर्फ कृषकको आकर्षण बढेको उहाँले बताउनुभयो । गड्यौले मलको प्रयोगले बाली बिरुवाको वृद्धि विकास छिटो हुने गर्छ । साथै झारपात र घरमा निस्कने कुहिने फोहरबाट गड्यौला पालन गरी जैविक मल उत्पादन गर्न सकिन्छ । अहिले सो टोलका २५ जना महिला किसानहरुले गड्यौले मल उत्पादन र प्रयोग गर्दै आएका छन् ।