कञ्चनपुरको पुनर्वास नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा नगर अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूले आर्थिक वर्षभर सञ्चालन गरेका स्वास्थ्य सेवा, कार्यक्रम तथा उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षका योजना र प्राथमिकताहरू तय गरिएको पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले बताउनुभयो ।

समीक्षा कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थाहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यसम्पादनका आधारमा वडा नं. ३,४ र ६ को आधारभूत स्वास्थ्य केन्द्र क्रमश प्रथम द्वितीय र तृतीय भएका छन् । उत्कृष्ट स्वास्थ्य संस्थाहरूलाई पुनर्वास ५ का वडाध्यक्ष पदम रोकायाले प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएको बताउनुभयो । उहाँले पालिकाको स्वास्थ्य गुणस्तर सुधार र पहुँच विस्तार कार्य नगरपालिकाको प्राथमिकता रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी वर्षमा समुदायस्तरमा अझ प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि सबै सरोकारवालालाई जिम्मेवार र संयमित ढंगले काम गर्न निर्देशन दिनुभयो ।

त्यसैगरी विशिष्ट अतिथिको रूपमा पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील रहेकोले सबै स्वास्थ्यकर्मीले इमानदारपूर्वक नगरवासीको स्वास्थ्य सुधारमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूका लागि नगरपालिकाबाट कुनै पनि किसिमको कमी हुन नदिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख तोय प्रसाद शर्मा, नगर उपप्रमुख भुलिया कुमारी राना, प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजाल, पुनर्वास ५ का वडाध्यक्ष पदम रोकाया, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि तथा विभिन्न स्वास्थ्य संस्थाका अधिकृत र कर्मचारीहरू, पत्रकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।