कञ्चनपुरको पुनर्वास-१० स्थित विजय माध्यमिक विद्यालयमा एक दिने लैङ्गिक हिंसा, लागु पदार्थ दुर्व्यसन र ओसारपोसार नियन्त्रण सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरूलाई लैङ्गिक हिंसा, लागु पदार्थ दुर्व्यसन र ओसारपोसार नियन्त्रणका बारेमा जानकारी दिइएको थियो ।

पुनर्वास नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको रूपमा  उक्त कार्यक्रम गरीएको शाखा प्रमुख कृष्ण भट्टले जानकारी दिनुभयो ।

 कार्यक्रममा बोल्दै उहाँले कार्यक्रमको महत्त्वपूर्ण उद्देश्य र यसका विभिन्न विषयहरूमा प्रकाश पार्दै  विद्यालयका विद्यार्थीहरूलाई लैङ्गिक हिंसा, लागु पदार्थ दुर्व्यसन न्यूनीकरण, बालविवाह र मानव बेचविखन जस्ता जटिल समस्याहरूको बारेमा सचेतना फैलाउँदै आएको बताउनु भयो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले सहजीकरण भूमिका निभाएको थियो। प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले विद्यार्थीहरूलाई लागु पदार्थ दुर्व्यसनको बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

 

विजय माध्यमिक विद्यालयका प्रधानाध्यापक भवानी दत्त अवस्थीको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा पुनर्वास १० का वडाध्यक्ष सुकदेव राना प्रमुख अतिथि हुनुहुन्थ्यो ।