कञ्चनपुरको पुनर्वास ५ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिभुवन बस्तीको २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच संस्थाको अध्यक्ष दिना कुमारी निरौलाको अध्यक्षता र नेपाल कृषि सहकारी केन्द्रीय संघका सञ्चालक तथा प्रदेश कृषि सङ्घका संयोजक धर्मसिंह कुँवरको प्रमुख आतिथ्यतामा २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै नेपाल कृषि सहकारी केन्द्रीय संघका सञ्चालक धर्मसिंह कुँवरले पछिल्लो समय पुनर्वास नगरपालिका साना किसान कृषि सहकारी संस्थाहरू एक नम्बरमा रहेको बताउनुभयो । उहाँले सहकारीमा अहिले झण्डै ३ हजार सेयर सदस्य रहेकाले साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिभुवन बस्ती साना किसानहरू मध्येको उत्कृष्ट सहकारी भएको बताउनुभयो। उहाँले सहकारीले एक वर्षमा २ करोड २५ लाख भन्दा बढी नाफा कमाएको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो । शेयर सदस्यहरूमा पनि सहकारी हाम्रो हो भन्ने भावना हुनुपर्नेमा जोड दिनुभयो । सहकारीको पूर्ण स्वामित्व सेयर सदस्यहरूमा निर्भर रहेको बताउँदै सहकारीलाई कस्तो बनाउने भन्ने कुरा सेयर सदस्यहरूकै हातमा रहेको बताउनुभयो ।

यस्तै साधारण सभामा बोल्दै साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिभुवन बस्तीको अध्यक्ष दिना कुमारी निरौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारी विसं २०६१ असार २७ गते दर्ता गरी असोज १९ गते हस्तान्तरण भई सञ्चालन भएको उहाँले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म पुग्दा २ हजार ९ सय ३४ जना सदस्यहरू सहकारीमा आबद्ध भएको उहाँले जानकारी दिनुभयो ।

सहकारीले आर्थिक वर्ष २०८१/८२ मा ७ करोड ३७ लाख १६ हजार ४६७ आम्दानी गरेको छ भने ५ करोड १२ लाख १२ हजार ५९६ खर्च गरी २ करोड २५ लाख ०३ हजार ८७१ नाफा कमाउन सफल भएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०८१/८२ मा सहकारीले ३४ करोड २३ लाख ३६ हजार ५०० कुल ऋण लगानी गरेको थियो भने ३० करोड ५८ लाख ५६ हजार २९१ रुपैया कुल सावा असुली गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै सहकारीले आर्थिक वर्ष २०८२/८३ मा ८ करोड ८५ लाख प्रस्तावित आम्दानी गर्ने जनाएको छ भने अनुमानित ६ करोड २८ लाख १० हजार रुपैयाँ खर्च हुने देखिएको छ। यस्तै आर्थिक वर्ष २०८२/८३ मा २ करोड ५६ लाख ९० हजार नाफा कमाउने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा साना किसान बिकास लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय अत्तरीयाका शाखा प्रबन्धक हिक्मत बहादुर बम, पुनर्वास नगर पालीका वडा नं. ४,५ र ६ का वडा अध्यक्षहरु क्रमश मनोज जैसी, पदम बहादुर रोकाया र मित्रसिंह लामाको उपस्थिति रहेको थियो।

यस्तै कार्यक्रममा पुनर्वास नगर पालीकाका सहकारी शाखा प्रमुख धौलराम सार्की, लगायत विभिन्न सहकारीबाट आमन्त्रण गरेका प्रतिनिधिहरू, इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रतिनिधि, पत्रकार, सहकारी सञ्चालक तथा पदाधिकारीहरू, सेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।