कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ आइबीआरडीमा रहेको शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।  आइतबार एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष पदमप्रसाद शर्माको सभापतित्व र सहकारीका जेष्ठ नागरिक शेयर सदस्य ८६ वर्षीय लक्ष्मण कँडेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।


साधारण सभा कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष पदमप्रसाद शर्माले आर्थिक वर्ष २०८१र८२ मा सहकारीले १७ करोड १७ लाख ९० हजार ७२७ कारोबार गर्न सफल भएको बताउनुभयो । सहकारीले आर्थिक वर्ष ८१र८२ मा ४ लाख ९८६ रूपैयाँ नाफा कमाउन सफल भएको उहाँले बताउनुभयो । यस्तै सहकारीले आर्थिक वर्ष २०८२र८३ का लागि १८ करोड ४४ लाख ६५ हजारको प्रस्तावित आयव्याय बनाएको छ।  सहकारीका अध्यक्ष शर्माका अनुसार सहकारीले गत आर्थिक वर्षको नाफाबाट प्रति १० कित्ता सेयरमा ३१.९९ सेयर लाभांश वितरण गरेको बताउनुभयो । यस्तै सहकारीले सेयर सदस्य संरक्षण कोष मार्फत दैनिक एक रुपैयाँ जम्मा गरी सेयर सदस्यहरूको १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्ने बताउनुभयो।

साधारण सभामा बोल्दै प्रमुख अतिथिको आसनबाट जेष्ठ नागरिक सेयर सदस्य लक्ष्मण कँडेलले सहकारीको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । छोटो समयमा सहकारीले सेयर सदस्य सँगै अन्यको पनि मन जित्न सफल भएको बताउनुभयो । सहकारीले अबको वर्षहरूमा आफ्ना क्षेत्रहरू बढाउँदै लैजान पनि उहाँले सुझाव दिनुभयो।

साधारण सभामा लेखा प्रतिवेदन सहकारीका लेखा संयोजक रामनाथ लामिछानेले प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार सहकारीले चालु आर्थिक वर्षको साढे पाँच महिनाको अवधिमा सहकारीले ९ करोड ६ लाख ७० हजार ७४४ रूपैयाँ बराबरको कारोबार गर्दै यो अवधिमा १ लाख १७ हजार ३९५ नाफा कमाउन सफल भएको बताउनुभयोनाफा कमाउन सफल भएको बताउनुभयो ।

सहकारीका व्यवस्थापक ओमप्रसाद कँडेलले साधारण सभामा उत्कृष्ट बचतकर्ता दुई जना, उत्कृष्ट ऋणी दुई जना, जेष्ठ नागरिक सेयर सदस्य दुई जनालाई सम्मान गरिएको बताउनुभयो। यस्तै पूर्व सञ्चालकहरू चार जना, दुग्ध उत्पादन किसानहरूमध्ये बाट उत्कृष्ट एकजना र दुई जना कर्मचारीलाई सम्मान गरिएको बताउनुभयो ।

सहकारीले अहिलेको समयमा दुग्ध डेरी सञ्चालन गर्दै आएको छ । यस्तै पशुपालन फर्म सञ्चालन गरी ४० वटा पाडापाडी समेत राखेको छ। यो सँगै सेयर सदस्यहरूलाई मलखाद वितरण गर्नुका साथै दैनिक मासिक बचत तथा ऋण कारोबार समेत गर्दै आएको छ । कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर २ र ४ का वडाध्यक्ष डमर बहादुर थापा र मनोज जैसी विशिष्ट अतिथि रहनुभएको थियो । यस्तै कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सुशिला खत्रीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक ओमप्रसाद कँडेलले गर्नुभएको थियो।