कञ्चनपुरको पुनर्वास नगरपालिका–१० स्थित श्री पशुपति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै स्वर्गीय पिता जगुवा थापाको पार्वणश्राद्ध मनाइएको छ   ।

श्री शान्ति माध्यमिक विद्यालय पुनर्वास- १ मा मा कार्यरत शिक्षक भक्त ब. थापाले आफ्नो स्वर्गीय पिता जगुवा थापाको पार्वणश्राद्ध पञ्चमी तिथिको अवसरमा विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत ६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो । प्रत्येक विद्यार्थीलाई ३ प्रति कापी र २ प्रति कलम वितरण गरिएको उहाँले बताउनुभयो ।

श्राद्धको अवसरमा गरिने धार्मिक कर्मसँगै सामाजिक सेवामार्फत दिवंगत पिताको सम्झना गर्ने उद्देश्यले विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने गरी शैक्षिक सामग्री वितरण गरिएको हो । यसैगरी, पुनर्वास ११ भीम बस्ती निवासी शिक्षक थापाले सोही अवसरमा धनगढी स्थित मानवसेवा आश्रम, तारानगरमा रहेका ६० जनालाई एक छाक खाना समेत वितरण गरिएको जानकारी दिनुभयो ।

पिताको स्मृतिमा गरिएको उक्त कार्यले धार्मिक संस्कारसँगै शिक्षा र मानव सेवाप्रतिको सामाजिक उत्तरदायित्वलाई समेत जोडेको छ ।