कञ्चनपुरको पुनर्वास–१०, भीमबस्तीमा रहेको दुर्गा सेकेन्डरी इङ्लिस स्कुलले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका पीडित परिवारको पीडामा साथ दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत सहयोग गरेको छ । स्कुलका विद्यार्थी, शिक्षक तथा अभिभावकहरु समेत मिलेर विद्यालय परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय ५५ रूपैयाँ सहयोग प्रदान गरेको छ ।

विद्यार्थीहरूमा मानवीय सेवा, सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले राहत सहयोग गरिएको विद्यालयले जनाएको छ । विद्यालयका फाउन्डर तथा प्रिन्सिपल कर्ण बहादुर खडकाका अनुसार, विपद्को समयमा पीडित परिवारको साथमा उभिनु सबैको सामाजिक दायित्व हो ।

सानो सहयोगले पनि पीडामा परेका परिवारलाई राहत र आशा प्रदान गर्न सक्ने भएकाले विद्यालय परिवारले आफ्नो क्षमता अनुसार सहयोग गरेको उहाँले बताउनुभयो । खड्काले सहयोगमा सहभागी विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका कार्यमा विद्यालय सक्रिय रहने बताउनुभयो ।