नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै गर्दा सीमा नाकामा हुने नागरिकको आवतजावतलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन बेलौरी गुल्म अन्तर्गतका तीनवटा सीमा क्षेत्रमा नागरिक सहायता कक्ष (Citizen Help Desk) स्थापना गरी सञ्चालनमा ल्याइएको छ।

सीमा क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई आवश्यक सूचना तथा सहजीकरण प्रदान गर्ने उद्देश्यले सीमा सुरक्षा गुल्म बेलौरीद्वारा बेलौरी नगरपालिका–६ स्थित बैशाखा नाकामा, सशस्त्र प्रहरी बल, नेपाल बीओपी पुनर्वासद्वारा पुनर्वास नगरपालिका–६ स्थित १ नम्बर घाट सीमा इलाकामा तथा बीओपी झिलमिलाद्वारा बेलडाँडी गाउँपालिका–३ स्थित कालोपुल सीमा इलाकामा नागरिक सहायता कक्ष स्थापना गरी कार्य सञ्चालन गरिएको हो ।

चाडपर्वको समयमा भारतबाट रोजगारी गरी घर फर्किने नेपाली तथा विभिन्न कामका लागि भारतीय बजारतर्फ जाने नागरिकको संख्या बढ्ने भएकाले सीमा क्षेत्रमा हुने सम्भावित भिडभाड तथा अन्य समस्या लाई मध्यनजर गर्दै सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। नागरिक सहायता कक्षमार्फत सीमा क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई आवश्यक जानकारी उपलब्ध गराउने, सीमा आवागमनका क्रममा देखिएका समस्या तथा गुनासोको सहजीकरण गर्ने र आवश्यक परेमा सम्बन्धित सुरक्षा तथा सरोकारवाला निकायसँग समन्वय गरी सहयोग गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, खुला सीमा नाकाको फाइदा उठाउँदै हुनसक्ने लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायले निगरानीसमेत बढाएको छ। सीमा क्षेत्रमा शंकास्पद गतिविधि देखिएमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउन नागरिकलाई आग्रह गरिएको छ। दसैँ लगायतका चाडपर्वका समयमा सीमा नाकामा हुने आवतजावतलाई थप व्यवस्थित बनाउँदै नागरिकलाई सुरक्षित र सहज सेवा प्रदान गर्न तीनवटै क्षेत्रमा स्थापना गरिएका नागरिक सहायता कक्षले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सीमा क्षेत्रमा कार्यरत सुरक्षा निकाय र स्थानीय सरोकारवालाबीचको समन्वयबाट नागरिकमैत्री सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्यसमेत राखिएको छ।