कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मा जापानिज इन्सेफलाइटिस (JE) को एक केस पुष्टि भएपछि किटजन्य रोगको जोखिम न्यूनीकरण तथा सम्भावित संक्रमण रोकथामका लागि स्वास्थ्य शाखाले रोकथाम तथा नियन्त्रणका गतिविधिलाई तीव्र बनाएको छ । पुनर्वास नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा वडा नं. २ का विभिन्न टोल तथा बस्तीमा लार्भा खोजपड्ताल तथा नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो ।

अभियान अन्तर्गत स्वास्थ्यकर्मी तथा सरोकारवालाको टोलीले घर–आँगनदेखि समुदायका सम्भावित जोखिमयुक्त स्थानसम्म पुगेर लामखुट्टेको प्रजननस्थल खोजी गरेको थियो । पानी जम्न सक्ने खुला भाँडाकुँडा, टायर, ड्रम, गमला, फालिएका प्लास्टिकजन्य सामग्री लगायत स्थानको निरीक्षण गरी भेटिएका लार्भा नष्ट गरिएको थियो । टोलीले स्थानीय बासिन्दालाई घर वरपर पानी जम्न नदिने, अनावश्यक सामग्री हटाउने तथा लामखुट्टेको प्रजनन स्थल देखिए तत्काल व्यवस्थापन गर्न समेत सचेत गराएको थियो ।

अभियानमा पुनर्वास नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामी, जनस्वास्थ्य निरीक्षक जयबन्धु अर्याल, सहरी स्वास्थ्य केन्द्र–२ की प्रमुख लक्ष्मी गौडेल लगायत स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

स्वास्थ्य शाखा प्रमुख धामीले नागरिकको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य शाखाले आफ्नो तर्फबाट कुनै कमी हुन नदिने बताउनुभयो । उहाँले रोग फैलिसके पछि उपचारमा मात्र केन्द्रित हुनुभन्दा सम्भावित जोखिम पहिचान गरी संक्रमणको स्रोत नियन्त्रण र समयमै रोकथामका उपाय अपनाउनु प्रभावकारी हुने बताउनुभयो ।

वर्षायाम तथा त्यसपछिको समयमा पानी जम्ने स्थान बढ्दा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्न सक्ने भएकाले डेंगु, जापानिज इन्सेफलाइटिस लगायत किटजन्य रोगको जोखिम बढ्न सक्छ । यही अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य शाखाले जोखिमयुक्त क्षेत्रमा लार्भा खोजपड्ताल, लार्भा नष्ट गर्ने, सरसफाइ तथा जनचेतनामूलक गतिविधिलाई प्राथमिकतामा राखेको जनाएको छ ।

स्वास्थ्य शाखाले किटजन्य रोग नियन्त्रण स्वास्थ्य संस्थाको मात्र जिम्मेवारी नभई घरपरिवार, समुदाय, विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अन्य सरोकारवालाको साझा जिम्मेवारी भएको जनाएको छ । विद्यालयले आफ्नो परिसरमा पानी जम्ने स्थान पहिचान गरी व्यवस्थापन गर्नुका साथै विद्यार्थी मार्फत घरपरिवारसम्म सरसफाइ र लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने सन्देश पुर्‍याउनु पर्नेमा स्वास्थ्य शाखाले जोड दिएको छ ।


त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाले समुदाय तथा घर परिवारसँग प्रत्यक्ष सम्पर्कमा रहेर पानी जम्ने स्थान पहिचान, सरसफाइ तथा लामखुट्टेको प्रजननस्थल नष्ट गर्न प्रेरित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्वास्थ्य शाखाको भनाइ   छ ।

स्वास्थ्य शाखाले लार्भा खोजपड्ताल तथा नष्ट गर्ने अभियानलाई क्रमशः अन्य जोखिमयुक्त क्षेत्रहरूमा समेत विस्तार गर्ने जनाएको छ । स्वास्थ्य शाखाले नगरवासीलाई घर तथा समुदाय वरपर पानी जम्न नदिन, अनावश्यक सामग्रीको उचित व्यवस्थापन गर्न तथा लामखुट्टेको सम्भावित प्रजननस्थल देखिए तत्काल नष्ट गर्न आग्रह गरेको छ ।