नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, नेपालको लोकतान्त्रिक इतिहासको महत्त्वपूर्ण अध्याय हो। २००७ सालको राणा शासनविरुद्धको क्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को लोकतान्त्रिक आन्दोलनदेखि गणतन्त्र र संविधान निर्माणसम्म यस पार्टीको भूमिका ऐतिहासिक छ। संस्थापक नेता बीपी कोइरालाको नेतृत्व, गणेशमान सिंहको साहस, कृष्णप्रसाद भट्टराईको निष्ठा र गिरिजाप्रसाद कोइरालाको राजनीतिक सहकार्य र समन्वयले पार्टीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गरेको इतिहास साक्षी छ।

तर आज त्यही ऐतिहासिक विरासत बोकेको पार्टी आन्तरिक विभाजन, नेतृत्वको प्रतिस्पर्धा र वैचारिक अन्योलको चपेटामा फसेको छ। पछिल्लो विवादको जरो केवल नेतृत्व परिवर्तन होइन, पार्टी विधानको व्याख्या, विशेष महाधिवेशनको वैधानिकता, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणप्रतिको फरक दृष्टिकोण पनि यसमा जोडिएको छ। यसले एउटा गम्भीर प्रश्न जन्माएको छ, अब पार्टी व्यक्ति केन्द्रित हुने कि विचार र विधि केन्द्रित?

निर्वाचन आयोगले करिब एक वर्षअघि गगन थापा नेतृत्वको समितिलाई मान्यता दिएको थियो। सर्वोच्च अदालतले त्यसको तीन महिनापछि त्यसलाई सदर गरे पनि फेरि केही महिनाभित्रै पुनरावलोकनको अनुमति दिएपछि विवाद पुनः न्यायिक प्रक्रियामा प्रवेश गरेको छ। फैसला ढिलो हुनुको कारणबारे अनुमान गर्नु उचित हुँदैन। कानुनी प्रक्रिया, प्रमाण र पक्ष-विपक्षहरूको बहस र न्यायिक परीक्षण आवश्यक हुन्छन्। तर पार्टीको यति महत्त्वपूर्ण विवादमा स्पष्ट सुनुवाइ र समयमै न्यायिक निरूपणको अपेक्षा पूरा हुन नसक्दा आम कार्यकर्ता र नागरिक स्तरबाट सर्वत्र चासो बढ्नु स्वाभाविक हो।

अब प्रश्न नेतृत्व कसले गर्ने भन्ने मात्र होइन, कांग्रेस कस्तो बनाउने भन्ने हो। राजसंस्थाको अन्त्यपछि देशले राजनीतिक स्थायित्व, राष्ट्रिय सहमति र साझा अभिभावकीय जिम्मेवारीको अभाव महसुस गरेको भन्ने बहस पनि टड्कारो रूपमा उठेको छ। तर यसको समाधान कुनै एक संस्थाको पुनःस्थापनामा मात्र खोज्नु पर्याप्त हुँदैन। लोकतान्त्रिक संस्था, संविधान, जिम्मेवार नेतृत्व र नागरिकको विश्वासले नै आधुनिक राष्ट्रको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ।

यही सन्दर्भमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप, राष्ट्रियता, लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता र सामाजिक न्यायको विचार आज पनि सान्दर्भिक छ। “बीपीवाद”लाई इतिहासको स्मृतिमा सीमित राखेर हुँदैन। समयको आवश्यकता, युवा पुस्ताको आकाङ्क्षा, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई समेटेर आधुनिक तथा सुधारिएको बीपीवादमा आधारित कांग्रेस निर्माण गर्ने बहस आवश्यक छ। पार्टी एकताको आधार पदको भागबन्डा होइन, विचार, विधि, पारदर्शिता र साझा राजनीतिक प्रतिबद्धता हुनुपर्छ। सबै पक्षले व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर संवाद, सहमति र विधिसम्मत समाधान खोज्नुपर्छ।

एकीकृत कांग्रेसको लक्ष्य संगठन विस्तार र सत्ताप्राप्तिमा मात्र सीमित हुनु हुँदैन। राष्ट्रिय हित, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, शिक्षा, स्वास्थ्य, युवाको भविष्य र नागरिक स्वतन्त्रताका विषयमा स्पष्ट राष्ट्रिय दृष्टिकोणसहित आम नागरिकलाई विश्वासमा लिन सक्नुपर्छ। अन्ततः कांग्रेसको भविष्य कुनै एक नेताको विजय वा अर्को नेताको पराजयमा होइन, यसको विचार, संगठन र लोकतान्त्रिक संस्कारको पुनर्जागरणमा निर्भर छ।

इतिहासको सम्मान गर्ने हो भने इतिहासमै अड्किएर होइन, त्यसबाट शिक्षा लिएर अघि बढ्नुपर्छ। बीपीको नाममा राजनीति गर्ने होइन, बीपीको विचारलाई व्यवहारमा उतार्ने कांग्रेस निर्माण गर्नु आजको मूल चुनौती हो। अब नेपाली कांग्रेसभित्रको बहस व्यक्ति र गुटको होइन, विचार र भविष्यको हुनुपर्छ। विभाजनको पीडाभन्दा एकताको शक्ति र नेतृत्वको प्रतिस्पर्धाभन्दा राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिने राजनीतिक संस्कारको खोजी नै आजको समयको माग हो।

अब “बदलिएको कांग्रेस र बदल्छौँ देश” भनेर नारा फलाक्ने कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको “विचार, आदर्श र सिद्धान्त” लाई पार्टीको “मूल मन्त्र र बटमलाइन” मानेर विभाजित कांग्रेस एकढिक्का बनाउन सके ७० वर्ष इतिहास बोकेको यो पार्टी नेपालको इतिहासमा आम नेपालीले चाहेको र खोजेको नम्बर एकको पुनः कांग्रेस पार्टी बन्नेछ।

 

शेखर सेढाई

हाल : जापान

प्रतिक्रियाको लागि : [email protected]