आजभोलि प्रायजसो सामुदायिक विद्यालयमा अधिकांश विद्यार्थीहरू नियमित उपस्थित नहुने समस्या विद्यमान रहेको छ । यो कुनै एउटा मात्र विद्यालयको समस्या नभइ समग्र विद्यालयको समस्या बनेको छ । जसका कारण विद्यार्थीको सिकाइमा प्रत्यक्ष नकारात्मक असर पर्न गएको छ । सिकाइ उपलब्धि समेत घट्न जाने खतरा रहेको देखिन्छ । यस पृष्ठभूमिमा यो समस्या समाधान गर्न देहायबमोजिमका उपायहरू अपनाउन सान्दर्भिक हुन सक्छ :

(१)  अभिभावक शिक्षा : हाम्रा अभिभावकहरू प्रायजसो काममा व्यस्त हुन्छन् । व्यस्तताका बिचमा पनि विद्यालयमा अभिभावकलाई  आमन्त्रण गरी छोटो समयमा अभिभावकको भेला गरी अभिभावकको कर्तव्य, आचारसंहित, विद्यार्थीको मनोविज्ञान, मोबाइल-इन्टरनेट-साइबर सुरक्षा, परियोजना कार्य र गृहकार्यमा सहयोग, सकारात्मक व्यवहार, घरमा पढाइमा सहयोग, विद्यालयमा नआउँदा पर्न सक्ने कानुनी प्रभावआदिका सम्बन्धमाअभिभावकलाई अनिवार्य जानकारी गराउन सके विद्यार्थी कक्षामा उपस्थित हुने दरमा वृद्धि हुन सक्छ ।

(२) नियमित घरदैलो कार्यक्रम : हामी प्राय शैक्षिकसत्रको प्रारम्भमा मात्रै औपचारिकता पूरा गर्न मात्र भर्ना अभियानसँगै घरदैलो कार्यक्रम गर्ने गर्दछौं । तत्पश्चात यो कार्य पूर्ण रूपमा बन्द हुने गर्दछ । शैक्षिकसत्रका अन्य महिनामा पनि विद्यालय नआउने विद्यार्थीहरूको तथ्याङ्क सङ्कलन गरी निज विद्यार्थीको घरमै गएर विद्यालय नआउनुको कारणबारे बुझ्न सकिन्छ । यसका लागि प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक सङ्घका अध्यक्षरहेको आन्तरिक संयन्त्र बनाइ घरदैलो कार्यक्रमको समन्वय गर्नुपर्दछ । जहाँ प्रधानाध्यापकलाई शिक्षणको भार कम हुनुपर्दछ ।  विद्यालय प्रशासनले कक्षागत रूपमा लामो समयसम्म कक्षामा उपस्थित नहुने विद्यार्थीको तथ्याङ्क सङ्कलन गर्ने, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षकको संयुक्त बैठक बसी ती विद्यार्थीको घरमा पुग्ने सम्बन्धमा जिम्मेवारी बाँडफाँड गर्ने, घरदैलो गर्ने, विद्यालय नआउनुको कारणका सम्बन्धमा समीक्षा गर्दा समस्या समाधान हुन सक्छ ।

(३) समुदायसँग विद्यालय कार्यक्रम : विद्यालयले समुदायलाई केन्द्रमा राख्नुपर्दछ । समुदायस्तरमा विद्यालय सञ्चालन भइरहेका समयमा विद्यालय उमेर समूहका कुनै पनि बालबालिका घर, सडक, खेतबारी लगायत स्थानमा देखापर्न गएमा देख्ने व्यक्तिले विद्यालयमा जानकारी गराउन सके केही प्रभाव पर्न सक्छ । यसका लागि स्वास्थ्य स्वयमसेविका, सामुदायिक वनका पदाधिकारी, सङ्घसंस्थाका जिम्मेवार व्यक्तिसँग विद्यालयले समन्वय गर्नुपर्दछ ।

(४) सांस्कृतिक कार्यक्रममा कम सहभागिता : समुदायस्तरमा हुने विवाह, व्रतबन्ध, पूजा, श्राद्ध आदि सांस्कृतिक कार्यका समयमा विद्यार्थीहरू विद्यालय नआउने समस्या देखिएको छ । यो समस्या समाधानका लागि अभिभावकले नै सम्बन्धित विद्यार्थीलाई विद्यालय जान प्रेरित गर्नुपर्दछ । अर्थात उक्त समयमा विद्यार्थीलाई घरमा बढी जिम्मेवारी अभिभावकले नदिने र बढीमा एक दिनसम्म सहभागी हुन ध्यान दिने हो भने केही हदसम्म अनुपस्थित हुने दर घट्न सक्छ ।

(५) मूल्याङ्कनसँगको आबद्धता : विद्यालयमा हाल आन्तरिक र अन्तिम मूल्याङ्कन प्रणालीको व्यवस्था रहेको छ । आन्तरिक मूल्याङ्कनमा रहेको विद्यार्थी उपस्थिति र सक्रिय सहभागिताको आधारलाई कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ । साथै अधिकांश अनुपस्थित हुने विद्यार्थीलाई आन्तरिक मूल्याङ्कनका अन्य आधारमा दिइने अङ्कनमा समेत कडाइ गर्दा उपस्थिति दरमा वृद्धि हुन सक्छ । दैनिक प्रथम पिरियडमा विद्यालय प्रशासनले विद्यालय नआउने सम्पूर्ण कक्षाका विद्यार्थीको विवरण सङ्कन गरी/गराई ती विद्यार्थीको उपलब्धिलाई आन्तरिक मूल्याङ्कनसँग आबद्ध गर्दा समेत प्रभाव पर्न सक्छ ।

(६) कक्षा शिक्षकको सक्रियता : हरेक विद्यालयमा प्रत्येक कक्षाका लागि कक्षा शिक्षक तोकिएको हुन्छ । आज हाजिर गर्ने समयमा हिजो र अस्ति विद्यालय नआउने विद्यार्थीका हकमा दैनिक विद्यालय नआउनुको कारण सोधखोज गर्दा नैतिकताका कारण पनि विद्यार्थी विद्यालयसम्म आउन सक्ने सम्भावना रहन सक्छ । आज विद्यालय नआएका विद्यार्थीको हकमा घरमा फोन गरी जानकारी गराउन र नआउनुको कारण बुझ्न सकिन्छ । यसका लागि विद्यालयले एउटा मोबाइल सेटको व्यवस्था गर्नुपर्ने हुन्छ । IEMISमा इन्ट्रि गरिएको सबै विद्यार्थीको मासिक उपस्थिति सम्बन्धी विवरण प्रत्येक महिनाको १ गते कक्षामा प्रस्तुत गर्ने हो भने पनि यो समस्यामा कमी आउन  सक्छ ।

(७) कानुनी प्रावधानको जानकारी : विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नेपालको शिक्षा सम्बन्धी कानुनी प्रावधानका सम्बन्धमा जानकारी गराउनुपर्दछ । शिक्षा नियमावली,२०५९ कोकम्तीमा ७५ प्रतिशत हाजिरी भई नियमित रूपमा अध्ययन गरेको विद्यार्थी मात्र परीक्षामा सहभागी हुन पाउने प्रावधान, अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन,२०७५ अनुसार चार बर्ष पूरा भई १३ बर्ष उमेर पूरा नभएका बालबालिकालाई आधारभूत तहसम्म अनिवार्य शिक्षा प्रदान गर्नुपर्ने र वि.सं. २०८५ बैशाख १ गते देखि आधारभूत तहसम्मको शिक्षा हासिल नगरेका व्यक्तिहरू राज्यद्धारा उपलब्ध गराइने सेवा सुविधाबाट बञ्चित हुने लगायतका प्रावधानका बारेमा विद्यार्थी र अभिभावक दुवैलाई जानकारी गराउन सके चेतनाको स्तरमा वृद्धि गर्न सकिन्छ ।

(८) पुरस्कार तथा प्रेरणात्मक कार्यक्रम : विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीलाई प्रशंसा–पत्र, पुरस्कार प्रदान गर्ने, “महिनाको उत्कृष्ट विद्यार्थी” कार्यक्रम सञ्चालन गर्ने र ९०% भन्दा माथि उपस्थित हुने विद्यार्थीलाई विशेष सम्मान गर्ने हो भने पनि विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित गराउन सहज हुन्छ ।

अत: विद्यार्थीको उपस्थितिलाई केवल नियमले मात्रै होइन ।प्रेरणा, सुरक्षा, रुचि र सहकार्यले बढाउन सकिन्छ। विद्यालयलाई बालमैत्री, सहभागितामूलक र सहयोगात्मक बनाउँदा विद्यार्थी स्वतः विद्यालय आउन इच्छुक हुन्छन् भन्ने कुरालाई सरोकारवाला सबैले मनन गर्नु आजको आवश्यकता रहेको छ ।

लेखक: नबराज पाण्डेय  प्रधानाध्यापक : श्री राष्ट्रिय मा.वि. पुनर्वास-११,अमरबस्ती, कञ्चनपुर