कञ्चनपुरको पुनर्वास -११ मा रहेको अमर गोकुल सामुदायिक वन उपभोक्ता समूहले शुक्रबार विविध विषयमा छलफल गरेको छ।

उक्त छलफल कार्यक्रममा बोल्नुहुँदै पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तुलसी अर्यालले विगतका दिनमा जस्तो अहिलेको अवस्था नरहेको बताउनुभयो । वन वन उपभोक्ता समूहले काम गर्दा समूहको बैठक, नभए उपभोक्ताहरूको भेला गरेर निर्णय गर्न समेत आग्रह गर्नुभयो।

यस्तै कार्यक्रममा बोल्दै कुण्डा सबडिभिजन वन कार्यालय पचकडियाका प्रमुख वन अधिकृत दिनेश कुमार यादवले समूहले समयसमयमा यस्ता खाले छलफलका कार्यक्रमहरू राख्न आवश्यक रहेको बताउनुभयो । यसले गर्दा कुनै पनि काम गर्दा समूहलाई सजिलो हुने, समूहले नजानेको विषयमा समेत जानकारी मिल्ने उहाँले बताउनुभयो । यसरी छलफल गर्दा उपभोक्ताहरूलाई जिज्ञासा लागेका विषयवस्तुहरू पनि उठाउन सकिने उहाँले बताउनुभयो ।

छलफलको क्रममा समूह प्रति उठेका जिज्ञासाहरू, समाधानका उपायहरू खोज्नुका साथै अब कसरी काम गर्ने भन्ने विषयमा समेत चर्चा भएको अमर गोकुल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मानबहादुर थापाले बताउनुभयो । उहाँले समूहप्रति कुनै पनि जिज्ञासा भए कार्यालयमा भेटेर सुझाव दिन समेत आग्रह गर्नुभयो।

पुनर्वास ११ का वडाध्यक्ष तुलसी अर्यालको प्रमुख अतिथ्यतामा कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादव सहित समूहका पदाधिकारी, वनका कर्मचारी, स्थानीय बुद्धिजीवी, पत्रकार लगायतको उपस्थितिमा छलफल भएको थियो ।