कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमा क्षेत्रमा लागू औषधसहित चार जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी भुडाबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर घिमिरेको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोली र प्रहरी चौकी भुडाबाट प्रहरी सहायक निरीक्षक कृष्णराज जोशी सहितको संयुक्त टोलीले शंकास्पद रूपमा रोकी राखिएको सु.प.प्र. ०१००१ ह ८४४३ नम्बरको अटो रिक्सामा चेकजाँच गर्दा लागूऔषध भेटिएको थियो ।

जाँचका क्रममा अटोको पछाडिको सिटमा कालो प्लास्टिकभित्र लुकाएर राखिएको करिब ६.५ ग्राम खैरो हिरोइनजस्तो देखिने ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा कञ्चनपुर बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलका ४७ वर्षीय करन ओखेडा (अटो चालक), बेदकोट नगरपालिका–८ का १८ वर्षीय ललित सेट्टी, १९ वर्षीय अशोक डगौरा र उनकी श्रीमती १८ वर्षीया ममता सार्की रहेका छन्।

उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी भुडामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।