कञ्चनपुरको बेतकोटमा गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । बेदकोट नगरपालिका वडा नं ७ सुढाका स्थानीय जयलाल ओडको गोठको माथि रहेको विद्युत प्राधिकरणको पोलको तार सट भई आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

ओडका अनुसार गोठमा आगलागी भई दूध दिने भैँसी एउटा, पाडो एउटा, बाख्रा दुईवटा र खशी दुई वटा र गाईको बाच्छाको जलेर मृत्यु भएको छ । तीन ओटा बाख्रा र गाई भने घाइते भएको उहाँले जानकारी दिनुभयो ।

विद्युतको तार सट भई गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ भने गोठमाथि राखेको भुसा समेत नष्ट भएको प्रहरीले जनाएको छ ।
बेतकोट नगरपालिकाको दमकल,नेपाल प्रहरी,नगर प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिन सकिएपनि,पशु चौपाया भने बचाउन नसकेको प्रहरीले जनाएको छ ।