विद्यालय तहका सबै कक्षाहरूमा कमजोर, मध्यम र उच्च क्षमता भएका विद्यार्थीहरू अध्ययन गर्दछन् । खासगरी आधारभूत तह (कक्षा ४-८) मा अध्ययनरत कमजोर विद्यार्थीहरूको सिकाइमा सुधार गर्न उपचारात्मक शिक्षण कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा यो लेख केन्द्रित रहेको छ ।

हामी शिक्षकले गर्नुपर्ने प्रथम कार्य त कक्षामा रहेका कमजोर क्षमता भएका विद्यार्थीहरूको पहिचान गर्नु नै हो । यसरी पहिचान गर्दा शिक्षकहरूसँगको समन्वय आवश्यक हुन्छ । उक्त कार्य कक्षा शिक्षकले गर्नु अति उत्तम मानिन्छ । सिकाइमा कमजोर विद्यार्थीको तथ्याङ्क सङ्कलन गरिसके पश्चात ती विद्यार्थीहरूका अभिभावकसँग अन्तरक्रिया गर्नुपर्ने हुन्छ । अभिभावकसँग समन्वय गर्दै नेपाली, गणित र अङ्ग्रेजी विषयका शिक्षाकसँगको उपस्थितिमा पठनपाठन गर्ने समय सारिणी बनाइ लागू गर्न सकिन्छ । विषयगत रूपमा एक निश्चित पाठ्यांश निर्धारण गरी सम्बन्धित विद्यार्थीलाई एक महिनासम्म निरन्तर सिकाउँदै जाने हो भने सिकाइमा सुधार आउन सक्छ ।

विद्यार्थीलाई सिकाउनका लागि विद्यालय समय भन्दा बाहेकको समय उपयुक्त हुन्छ । अध्यापनमा संलग्न शिक्षकलाई मौद्रिक प्रेरणा पनि आवश्यक मानिन्छ । आधारभूत पक्षको ज्ञान हासिल गर्न र गराउन नेपाली, अङ्ग्रेजी र गणित विषयलाई पहिलो प्राथमिकता दिनु सान्दर्भिक देखिन्छ । तीनओटै विषयलाई १०/१०/१० दिनमा विभाजन गरी एक महिनाको समय आवश्यक मानिन्छ । जसका लागि देहायअनुसार हुने गरी पाठ्यांश र समय निर्धारण गरी लागू गर्न सकिन्छ :

 

विषय : नेपाली (१० दिन)                                                            समय : १ घण्टा ३० मिनेट  (प्रति पिरियड)

पहिलो दिन : स्वर वर्ण (अ–अः), व्यञ्जन वर्ण (क–ज्ञ), बाह्रखरी (क–ज्ञ)

दोस्रो दिन : आधा अक्षर भएका अक्षर र शब्द (जस्तैः क्र, क्य …)

तेस्रो दिन : दुई, तीन र चार अक्षर भएका शब्दहरू लेखन र पठन (नाता जनाउने, रूखबिरुवा, शरीरका अङ्ग, बाजा, क–ज्ञ सम्म र अ–अः सम्म आउने शब्दहरू)

चौथो दिन : शब्दबाट वाक्य निर्माण

पाँचौ दिन : अनुलेखन (कुनै अनुच्छेद जस्ताको तस्तै सार्न लगाउने)

छैटौ दिन : अनुच्छेद पठन (प्रत्येक विद्यार्थीलाई अनुच्छेद पढ्न लगाउने)

सातौ दिन : श्रुतिलेखन (शिक्षकले पढेको अनुच्छेदलाई लेख्न लगाउने)

आठौ दिन : अनुच्छेदबाट उत्तर पत्ता लगाउने

नवौं दिन : सजिला शीर्षकमा निबन्ध लेखन – जस्तैः मेरो परिवार, मेरो विद्यालय, मेरो साथी आदि

दशौं दिन : एक विद्यार्थीले लेखेको निबन्ध अर्को विद्यार्थीलाई पढ्न लगाउने

 

विषय : अङ्ग्रेजी (१० दिन)                                                         समय : १ घण्टा ३० मिनेट (प्रति पिरियड)

एघारौ दिन : सानो र ठूलो A, B, C, D

बाह्रौं दिन : अङ्ग्रेजीमा अ, आ, इ, ई र क, ख … Ka, Kha …

तेह्रौं दिन : अङ्ग्रेजीमा क, का, कि, की … Ka, Ka, Ki, Kee … १ सम्म

चौधौं दिन : दुई वा सोभन्दा बढी शब्दका Letter हरू पहिचान गरी उच्चारण गर्न लगाउने

पन्ध्रौं दिन : Vowel र Consonant को अवधारणा दिने

सोह्रौं दिन : छोटा छोटा Sentence पढ्न र लेख्न लगाउने साथै Word बाट आफैँ वाक्य निर्माण गर्न लगाउने

सत्रौं दिन : छोटा छोटा Paragraph सही उच्चारण गरी पढ्न लगाउने र थप सहयोग प्रदान गर्ने

अठारौं दिन : Passage सार्न लगाउने र कुनै अर्को Passage को अनुलेखन गराउने

उन्नाइसौं दिन : Passage पढी उत्तर दिन सिकाउने

बीसौं दिन : कुनै सजिलो शीर्षकमा Essay Writing गर्न लगाउने

विषय : गणित (१० दिन)                                                             समय : १ घण्टा ३० मिनेट (प्रति पिरियड)

एक्कासौं दिन : १, २, ३, ४ ……… / 1, 2, 3, 4 ………

बाइसौं दिन : नेपाली अक्षरमा एक, दुई, तीन, चार …सय सम्म र तीन अङ्क वा सोभन्दा बढी सङ्ख्यालाई अक्षरमा लेख्न

तेइसौं दिन : One, Two ……… Hundred सम्म

चौबिसौं दिन : रोमन सङ्ख्या (१ देखि १००० सम्म)

पच्चीसौं दिन : टेबल (दुना) – १ देखि १० सम्म

छब्बिसौं दिन : टेबल (दुना) – ११ देखि २० सम्म

सत्ताइसौं दिन : जोड, घटाउ, गुणन र भाग

अठ्ठाइसौं दिन : स्थानमान तालिका – एक, दस, सय, हजार, दशहजार, लाख …

उन्नतीसौं दिन : जोर, बिजोर, रूढ र संयुक्त सङ्ख्या, भन्दा ठूलो र भन्दा सानो सङ्ख्या

तीसौं दिन : भिन्न र दशमलवको सामान्य अवधारणा

यसप्रकार उपचारात्मक शिक्षणका कक्षामा कमजोर क्षमता भएका विद्यार्थीको स्वाभिमानमा आँच आउन दिनु चाहिँ हुँदैन । यहाँ ती विद्यार्थीहरूलाई उपचारात्मक कक्षामा उपस्थित गराउने चुनौती हुन सक्छ । यसका लागि अभिभावकहरूसँग नियमित समन्वय र कक्षामा नआएका विद्यार्थीका अभिभावकलाई खबर गरिराख्नु पर्ने हुन्छ ।

विद्यार्थी कक्षामा आए नआएको सधैं हाजिरी समेत गर्नुपर्दछ । नियमित उपस्थित हुने विद्यार्थीलाई Hero of the day, Hero of the week, Hero of the month भनि घोषणा गर्दा अझै उपयुक्त हुन्छ । ती विद्यार्थीहरूमा कमजोर भएकै कारण हीनता बोध हुन सक्ने मनोविज्ञानलाई समेत शिक्षकले निकै ध्यान दिनु आवश्यक मानिन्छ । समयसारिणी शिक्षकको समन्वयमा मिलाएर पठनपाठन कार्य गर्न सकिन्छ । यसप्रकारको अभ्यासलाई कार्यान्वयन गर्न सके कक्षामा रहेका कमजोर क्षमता भएका विद्यार्थीहरूको सिकाइमा सुधार आउने अपेक्षा गर्न सकिन्छ । अत: उपचारात्मक शिक्षणलाई आत्मसात गर्दै जाऔं ।

लेखक: नबराज पाण्डेय (माध्यमिक तह, द्वितीय श्रेणी)

प्रधानाध्यापक : श्री राष्ट्रिय माध्यमिक विद्यालय, पुनर्वास-११,अमरबस्ती, कञ्चनपुर