कञ्चनपुरको पुनर्वास क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती र अस्थायी ट्राफिक प्रहरी पोस्टले संयुक्त रूपमा चेकजाँचलाई तीव्र बनाएका छन् ।

सरकारको निर्देशन अनुसार ट्याक्सी, अटोरिक्सा तथा विद्युतीय रिक्सा चालकहरूलाई अनिवार्य रूपमा फलोरेसेन्ट ज्याकेट लगाउन आग्रह गरिएको छ । साथै, सबै सवारी साधनमा स्पष्ट रूपमा भाडादर उल्लेख गर्न पनि निर्देशन दिइएको प्रहरीले जनाएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थायी ट्राफिक प्रहरी पोस्टको संयुक्त टोलीले नियमित तथा आकस्मिक (सरप्राइज) चेकजाँच सञ्चालन गरिरहेको छ। विशेषगरी रातिको समयमा हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले लागू पदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) विरुद्ध कडा निगरानी र कारबाही गरिरहेको जनाएको छ ।

यसका साथै दिउँसोको समयमा पनि नियमित सवारी चेकिङ जारी रहेको अस्थायी ट्राफिक प्रहरी पोस्ट त्रिभुवन बस्तीले जानकारी दिएको छ ।

पछिल्लो समय अपराधिक क्रियाकलापहरू वृद्धि भएसँगै प्रहरीमाथि आलोचना बढिरहेको अवस्थामा सम्भावित दुर्घटना न्यूनीकरण तथा लागू पदार्थ दुर्वेसनी नियन्त्रणका लागि चेकजाँच अभियानलाई अझ सशक्त बनाइएको प्रहरीले जनाइएको छ ।