कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटिया स्थित भूपसैनिक टोलमा रहेको शिव मन्दिरको प्राङ्गणमा हनुमानजीको मूर्ति स्थापना गरी प्राणप्रतिष्ठा गरिने भएको छ।

शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष किशन सिंह पन्तका अनुसार भदौ २ गते मंगलबार धार्मिक विधि तथा पूजाआजा सहित हनुमानजीको मूर्ति स्थापना गरी प्राणप्रतिष्ठा गर्न लागिएको हो । प्राणप्रतिष्ठाका अवसरमा वैदिक मन्त्र, पूजा–आराधना, हवन तथा धार्मिक अनुष्ठान लगायतका कार्यक्रम गरिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

हनुमानजीलाई हिन्दू धर्ममा शक्ति, साहस, भक्ति, निष्ठा र संकटमोचनका प्रतीकका रूपमा श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ। प्राणप्रतिष्ठापछि मूर्तिमा धार्मिक विधिअनुसार देवत्वको आह्वान गरी नियमित पूजा–आराधना गर्ने परम्परा रहने भएकाले उक्त दिनलाई विशेष धार्मिक महत्वका साथ मनाउने तयारी गरिएको अध्यक्ष पन्तले बताउनुभयो ।

हनुमानको मूर्ति निर्माणका लागि सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य दिवानसिंह बिष्टको पहलमा १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । मूर्ति निर्माणमा आवश्यक अन्य रकम भने देश तथा विदेशमा रहेका सहयोगी तथा भक्तजनहरूबाट संकलन गरिएको समितिले जनाएको छ ।

यस्तै, बेलौरी नगरपालिकाले शिव मन्दिर परिसरको विकास तथा धार्मिक संरचना निर्माणका लागि २४ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमबाट मन्दिर परिसरमा जाली निर्माण, मन्दिरको गेट निर्माण, गौराभवन निर्माण तथा शिवलिङ्ग निर्माण लगायतका काम भएको उहाँले जानकारी दिनुभयो ।

मन्दिर परिसरमा हनुमानजीको मूर्ति स्थापना र प्राणप्रतिष्ठासँगै धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालनका लागि थप सहज हुने अपेक्षा गरिएको छ । स्थानीयवासी तथा भक्तजनको सहभागितामा हुने प्राणप्रतिष्ठा कार्यक्रमले भूपसैनिक टोलको शिव मन्दिरलाई धार्मिक आस्थाको केन्द्रका रूपमा थप स्थापित गर्न सहयोग पुग्ने विश्वास स्थानीयले गरेका छन् ।

प्राणप्रतिष्ठाका अवसरमा श्रद्धालु भक्तजनलाई सहभागी भई पूजा–आराधना तथा धार्मिक अनुष्ठानमा उपस्थित हुन मन्दिर व्यवस्थापन समितिले आग्रह समेत गरेको छ ।