कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद तारालामा तामाङले सुदूरपश्चिममा प्रादेशिक रङ्गशाला बनाउनका अध्ययन सुरु गर्नुपर्ने बताउनुभयो । आइतबारको प्रतिनिधिसभामा बोल्दै उहाँले प्रादेशिक रङ्गशाला बनाउन पुनर्वासमा ७४ बिघा जमिन रहेकाले जसका लागी अध्ययन गरिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अध्ययनका लागी प्रस्ताव गर्न, निश्चित बजेट विनियोजन गर्न सांसद तामाङले सरकार सँग माग गर्नुभयो । खेलकुदलाई सम्मान गर्न सरकारले विगतका भन्दा आगामी वर्षमा दोब्बरले बजेट विनियोजन गरेको बताउँदै सुदूरपश्चिममा रङ्गशाला बनाउनका लागि अध्ययन थाल्न उहाँले सरकारलाई जोड दिनुभयो ।

संसदमा बोल्दै सांसद तामाङले सीमा नाका भएर भारतबाट लागू औषध भित्रिने गरेकोले गृह मन्त्रालयलाई यसको न्यूनीकरणमा काम गर्न समेत उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।  एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत हुनुपर्ने १५ श्यैयाको अस्पताल, सघन सहरी विकास कार्यक्रमहरूलाई बस्ती विकास कार्यक्रम अनुसार राखिएकाले ती कार्यक्रमहरूलाई शीर्षक अनुसार राख्न पनि उहाँले सरकारलाई आग्रह गर्नुभयो ।