कञ्चनपुरको पुनर्वासमा जापानीज इन्सेफलाइटिस (Japanese Encephalitis–JE) का केसहरू क्रमश :  बढ्दै गएको छ । यसरी विभिन्न वडामा जापानीज इन्सेफलाइटिसका बिरामी भेटिन थाले पछि पुनर्वास नगरपालिकाको स्वस्थ्य शाखाले ती क्षेत्रमा थप सतर्कता र सक्रियता बढाइएको छ । पुनर्वास – ११ मा पहिलो केस नोभा अस्पताल, धनगढीमा पुष्टि भएको थियो भने पुनर्वास – २ मा दोस्रो र पुनर्वास – १ मा तेस्रो केस निसर्ग अस्पताल, धनगढीमा पुष्टि भएको  पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित स्वास्थ्य निकाय तथा विश्व स्वास्थ्य संगठन (WHO) मार्फत प्राप्त जानकारी पछि पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखाले सम्भावित जोखिमलाई गम्भीरता पूर्वक लिँदै समुदायस्तरमा निगरानी, जनचेतना तथा रोकथामका गतिविधिलाई तीव्रता दिएको पुनर्वास नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख राम बहादुर धामीले जानकारी दिनुभयो ।

जापानीज इन्सेफलाइटिसको केस पुष्टि भएका तीन वटै वडामा पुनर्बास नगरपालिका स्वास्थ्य शाखाको टोली तत्काल स्थलगत रूपमा पुगेर जोखिम मूल्याङ्कन, समुदायसँग प्रत्यक्ष छलफल, लामखुट्टेको नियन्त्रण, घर वरपरको सरसफाइ, पानी जम्ने स्थानको पहिचान तथा जापानीज इन्सेफलाइटिसबाट बच्ने उपाय बारे जनचेतना र परामर्श प्रदान गरिरहेको उहाँले जानकारी दिनभयो । जापानीज इन्सेफलाइटिस केवल बिरामीको उपचार गरेर मात्र नियन्त्रण हुने रोग नभई यसको जोखिम घटाउन समुदाय, परिवार, स्वास्थ्यकर्मी, स्थानीय सरकार, विद्यालय, सञ्चारमाध्यम तथा प्रत्येक नागरिकको संयुक्त प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो ।

WHO टोलीद्वारा स्थलगत अनुगमन : जापानीज इन्सेफलाइटिसको अवस्थालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठन (WHO) को टोलीले समेत पुनर्वासको प्रभावित समुदाय तथा स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन गरेको पुनर्वास नगरपालिकाको जनस्वास्थ्य अधिकृत यज्ञ खडकाले जानकारी दिनुभयो ।  उक्त टोलीले समुदायमा देखिएको जापानीज इन्सेफलाइटिस रोकथाम तथा नियन्त्रणका गतिविधि, स्वास्थ्य संस्थाको तयारी र  जोखिम व्यवस्थापनको अवस्थाबारे जानकारी लिएको थियो । आवश्यक प्राविधिक सहयोग र समन्वयमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत टोलीले व्यक्त गरेको जनस्वास्थ्य अधिकृत  खडकाले जानकरी दिनुभयो ।पालिकाको स्वास्थ्य शाखाले समुदायमै पुगेर गरिरहेको सक्रियता तथा जोखिम न्यूनीकरणका प्रयासमा WHO को समेत प्रत्यक्ष ध्यान पुग्नु पुनर्वासका लागि महत्वपूर्ण विषय भएको स्वास्थ्यकर्मीहरूको बुझाई छ ।

जापानीज इन्सेफलाइटिस के हो? जापानीज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर भाइरल रोग हो, जसले मुख्यतः मस्तिष्कमा संक्रमण गराउन सक्छ। विशेषगरी बालबालिकामा यसको जोखिम बढी हुने भए पनि हरेक उमेर समूहमा यसको जोखिम रहन्छ ।
सबै संक्रमित व्यक्तिमा गम्भीर लक्षण देखिँदैन । तर केही व्यक्तिमा संक्रमणले गम्भीर मस्तिष्क सम्बन्धी समस्या निम्त्याउन सक्ने भएकाले समयमै शंका गरी स्वास्थ्य संस्थामा पुर्‍याउनु अत्यन्त महत्वपूर्ण हुन्छ।

विशेष गरी बालबालिकामा: यी लक्षण देखिएमा बेवास्ता नगरौँ :
उच्च ज्वरो आउनु
टाउको दुख्नु
बान्ता हुनु
अत्यधिक निद्रा लाग्नु वा होसमा परिवर्तन आउनु
झट्का/दौरा पर्नु
मानसिक अवस्थामा परिवर्तन हुनु
घाँटी कडा हुनु
असामान्य व्यवहार देखिनु
बेहोस हुनु, जस्ता लक्षण देखिएमा जापानीज इन्सेफलाइटिस लगायत गम्भीर संक्रमणको सम्भावनालाई ध्यानमा राखी ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
यस्ता लक्षण देखिँदा घरमै बसेर औषधि खुवाउने, झारफुक गर्ने वा उपचारमा ढिलाइ गर्ने गर्नु जोखिमपूर्ण हुन सक्छ ।

जापानीज इन्सेफलाइटिस को उपचार कसरी हुन्छ ? जापानीज इन्सेफलाइटिसका लागि सामान्यतया विशेष भाइरस विरुद्धको निश्चित औषधि (specific antiviral treatment) उपलब्ध छैन। त्यसैले उपचार मुख्यतः बिरामीको अवस्था अनुसार सहायक उपचार (supportive care) मा केन्द्रित हुन्छ । ज्वरो नियन्त्रण, शरीरमा पानी तथा इलेक्ट्रोलाइटको सन्तुलन, झट्का नियन्त्रण, श्वासप्रश्वासको व्यवस्थापन तथा आवश्यक परे अस्पतालमा थप निगरानी र उपचार महत्वपूर्ण हुन्छ । त्यसैले जापानीज इन्सेफलाइटिसको अवस्थामा समयमै पहिचान, शीघ्र स्वास्थ्य संस्था पुग्नु र आवश्यक उपचार पाउनु नै महत्वपूर्ण हुन्छ ।

रोकथाम नै सबैभन्दा महत्वपूर्ण : जापानीज इन्सेफलाइटिसको जोखिम घटाउन लामखुट्टेको टोकाइबाट बच्नु अत्यन्त महत्वपूर्ण छ । स्वास्थ्य शाखाले नागरिकलाई घर वरपर पानी जम्न नदिने, लामखुट्टे बढ्ने सम्भावित स्थान हटाउने, साँझ–बिहान विशेष सावधानी अपनाउने, झुल प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने तथा घर वरपरको वातावरण सफा राख्ने लगायतका उपाय अपनाउन आग्रह गरेको छ । त्यसैगरी, जापानीज इन्सेफलाइटिस विरुद्धको खोप रोगबाट बच्ने महत्वपूर्ण उपाय भएकाले सरकारले सञ्चालन गरेको नियमित तथा लक्षित खोप कार्यक्रम अनुसार बालबालिकालाई खोप लगाउन स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

समुदायको भूमिका के हुन्छ ? जापानीज इन्सेफलाइटिस नियन्त्रण स्वास्थ्यकर्मीको मात्र जिम्मेवारी होइन । एउटा घर वरपरको पानी जमेको स्थानले पनि लामखुट्टेको प्रजननका लागि वातावरण बनाउन सक्छ। त्यसैले प्रत्येक परिवारले आफ्नो घर, आँगन, गोठ तथा वरपरको वातावरण नियमित रूपमा निरीक्षण गरी पानी जम्ने स्थान हटाउनुपर्छ ।

समुदायले के गर्ने :
पानी जम्ने स्थान हटाउने
घर तथा समुदायको सरसफाइ गर्ने
लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने
बिरामीमा देखिएका गम्भीर लक्षणबारे स्वास्थ्यकर्मीलाई जानकारी दिने
शंकास्पद बिरामीलाई समयमै स्वास्थ्य संस्थामा पुर्‍याउने
जापानीज इन्सेफलाइटिस सम्बन्धी गलत सूचना र अफवाह नफैलाउने
बालबालिकालाई लामखुट्टेको टोकाइबाट जोगाउने
जस्ता कार्यमा सक्रिय भूमिका खेल्नुपर्छ ।

विद्यालय र स्वास्थ्य संस्थाको पनि महत्वपूर्ण भूमिका :
विद्यालयमा बालबालिकालाई जापानीज इन्सेफलाइटिस, लामखुट्टेको टोकाइबाट बच्ने उपाय र गम्भीर लक्षणबारे जानकारी गराउनु आवश्यक छ । कुनै विद्यार्थीमा उच्च ज्वरो सँगै असामान्य व्यवहार, झट्का, बेहोस हुने वा मानसिक अवस्थामा परिवर्तन देखिएमा विद्यालयले अभिभावकलाई तत्काल जानकारी गराई स्वास्थ्य संस्थासँग समन्वय गर्नुपर्छ ।
स्वास्थ्य संस्थाहरूले पनि शंकास्पद केसको समयमै पहिचान, उचित रेफरल, निगरानी, रिपोर्टिङ तथा समुदायमा आवश्यक स्वास्थ्य शिक्षा प्रदान गर्नुपर्ने हुन्छ ।

स्थानीय सरकारको जिम्मेवारी :
जापानीज इन्सेफलाइटिस लगायतका संक्रामक रोग नियन्त्रणका लागि स्थानीय सरकारको नेतृत्व र समन्वय महत्वपूर्ण हुन्छ । स्वास्थ्य शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय, खानेपानी तथा सरसफाइसँग सम्बन्धित निकाय र समुदायबीच प्रभावकारी समन्वय हुन सकेमा जोखिम न्यूनीकरण गर्न थप सहज हुन्छ ।
स्वास्थ्य शाखाले समुदायमा देखिएको जोखिमलाई केवल तथ्यांकका रूपमा नहेरी स्थलगत रूपमा पुगेर समस्या बुझ्ने र समाधानका लागि तत्काल कदम चाल्ने नीति लिएको जनाएको छ ।

“हरेक विपत्तिमा स्वास्थ्य शाखा अग्रपंक्तिमा” :  पुनर्वास नगरपालिकाका जनस्वास्थ्य अधिकृत यज्ञ खड्काका अनुसार “जनताको स्वास्थ्यमा चुनौती आउँदा स्वास्थ्य शाखा पछाडि हट्ने होइन, अझ अगाडि बढ्ने हो । जापानीज इन्सेफलाइटिस लगायत कुनै पनि स्वास्थ्य आपत्कालीन अवस्थामा समुदायको साथमा रहन स्वास्थ्य शाखा २४ घण्टा तयार रहेको समेत उहाँले बताउनुभयो । रोग पुष्टि भएपछि मात्र होइन, जोखिम देखिए देखि नै आफूहरुको जिम्मेवारी सुरु हुनुका साथै नागरिकलाई सुरक्षित राख्न रोकथाम, निगरानी, जनचेतना र आवश्यक स्वास्थ्य सेवासँग जोड्ने कामलाई आफूहरूले  निरन्तर अगाडि बढाउँदै आएको समेत उहाँले बताउनुभयो ।
खड्काका अनुसार जापानीज इन्सेफलाइटिसको जोखिमलाई हल्का रूपमा लिन नहुने भए पनि आत्तिनु भन्दा सचेत र जिम्मेवार बन्नु आवश्यक रहेको छ। “एक केसपछि अर्को केस देखिँदा चुनौती अवश्य बढेको छ । तर चुनौती बढेसँगै आफूहरुको सक्रियता पनि बढेको उहाँले बताउनुभयो । समुदायमा पुगेर जोखिम पहिचान गर्ने, नागरिकलाई जानकारी दिने र रोकथामका उपाय कार्यान्वयन गर्ने काम निरन्तर चलिरहेको उहाँले बताउनुभयो ।

“यो हाम्रो दायित्व मात्र होइन, कर्म पनि हो” : स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक जयबन्धु अर्यालका अनुसार संकटको समयमा समुदायलाई आवश्यक सूचना, परामर्श र स्वास्थ्य सेवासँग जोड्नु आफूहरुको पहिलो प्राथमिकता रहेको बताउनुभयो । एउटा परिवार सुरक्षित हुनु भनेको आफूहरुको लागि एउटा ठूलो उपलब्धि भएको बताउँदै यो काम आफूहरुको दायित्व मात्र होइन, कर्म पनि रहेको जानकारी दिनुभयो । व जापानीज इन्सेफलाइटिस नियन्त्रणमा स्वास्थ्यकर्मीले मात्र सबै काम गर्न सम्भव नभएको बताउँदै नागरिक स्वयं सचेत भएर आफ्नो घर र समुदायको वातावरण सुरक्षित बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जापानीज इन्सेफलाइटिसका केस पुष्टि हुनु गम्भीर विषय हो । तर यसको अर्थ समुदायले डराएर बस्नुपर्ने होइन ।समयमै लक्षण पहिचान गर्ने, स्वास्थ्य संस्थामा पुग्ने, लामखुट्टेको टोकाइबाट बच्ने, वातावरण सफा राख्ने, खोप सम्बन्धी सरकारी कार्यक्रमलाई प्रभावकारी बनाउने र स्वास्थ्यकर्मीको सल्लाह पालना गर्ने हो भने जोखिम घटाउन सकिन्छ । स्वास्थ्य शाखाले नागरिकलाई कुनै पनि शंकास्पद लक्षणलाई सामान्य नठान्न र सामाजिक सञ्जालमा अपुष्ट सूचना तथा अफवाह फैलाउनुको सट्टा आधिकारिक स्वास्थ्य निकायबाट सूचना लिन आग्रह गरेको छ।