कञ्चनपुरको पुनर्वास नगरपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जालको पालिका स्तरीय दोस्रो बैठक सम्पन्न भएको छ । पुनर्वास नगरपालिका र एक्सेस परियोजनाको समन्वयमा शुक्रबार उक्त बैठक आयोजना गरिएको हो ।

बैठकमा बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने, विद्यालय भर्ना दर बढाउने तथा विद्यालय छोड्ने दर न्यूनीकरण गर्ने विषयमा छलफल गरिएको थियो । विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विद्यालय, अभिभावक, शिक्षक तथा सम्बन्धित सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए ।

बैठकलाई सम्बोधन गर्दै पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी रानाले यस्ता कार्यक्रमले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन तथा विद्यालय छोड्ने दर घटाउन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमको उद्देश्य महत्वपूर्ण रहेकाले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले सञ्जाललाई सक्रिय र प्रभावकारी रूपमा अघि बढाउन पालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेको जानकारी भएमा सम्बन्धित निकायलाई जानकारी गराउन नगरवासीलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन नगरपालिकाको शिक्षा शाखा प्रमुख शिवराज भट्टले गर्नुभएको थियो । उहाँले विद्यालय, अभिभावक, शिक्षक र अन्य सरोकारवाला बीचको समन्वय तथा सहकार्यलाई बलियो बनाउँदै सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यसबाट विद्यार्थी भर्ना दर बढ्नुका साथै शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

बैठकमा विभिन्न विद्यालयका शिक्षक, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, विद्यार्थी, अभिभावक, बालक्लबका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

एक्सेस परियोजना युरोपियन युनियनको आर्थिक सहयोग, पिपुल इन नीड नेपालको प्राविधिक सहयोग तथा एकाउन्टेबिलिटी ल्याब नेपाल, नेपाल अपाङ्ग महिला सङ्घ र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको साझेदारीमा सञ्चालन भइरहेको छ । परियोजनाअन्तर्गत हाल स्वीट नेपालले पनि काम गरिरहेको जनाइएको छ । बैठकमा एकाउन्टेबिलिटी ल्याब नेपालका जिल्ला संयोजक गंगा भण्डारी, नेपाल अपाङ्ग महिला सङ्घकी प्रतिनिधि अनिता ढुङ्गानालगायतको उपस्थिति रहेको थियो ।