भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले पुनर्वास नगरपालिका–५ स्थित रातोताल सामुदायिक विपद् व्यवस्थापन समितिले प्रधानमन्त्री राहत कोषमा नगद सहयोग गरेको छ । समितिले बाढीपीडित परिवारहरूको पीडामा साथ दिँदै २० हजार ८ सय ३० राहत स्वरुप प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको समितिका अध्यक्ष सिताराम खड्काले जानकारी दिनुभयो ।

विपद्को समयमा मानवीय सेवाभाव सहित स्वतःस्फूर्त रूपमा गरिएको उक्त सहयोगप्रति पुनर्वास नगरपालिका स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र समितिले रातोताल सामुदायिक विपद् व्यवस्थापन समितिप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको पुनर्वास नगरपालिकाका विपद् फोकल पर्सन ओमनाथ ढकालले जानकारी दिनुभयो ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस कार्यले विपद्का समयमा समुदायमा एकता, सहयोग र मानवीय भावनाको सकारात्मक सन्देश दिएको छ ।