कञ्चनपुरको पुनर्वास–११ स्थित गंगा जमुना सामुदायिक वन उपभोक्ता समूहले नदी कटान नियन्त्रण सँगै दीर्घकालीन आयआर्जनको सोच राखेर बेतबासको वृक्षारोपण सुरु गरेको छ । स्थानीय सामुदायिक वनमा ५ हजार बेतका बिरुवा रोप्ने अभियान डिभिजन वन कार्यालय कञ्चनपुरको सहयोगमा सञ्चालन भइरहेको हो ।

मोहना नदीसँग जोडिएको गंगा जमुना सामुदायिक वन क्षेत्र नदी कटानको उच्च जोखिममा रहेको क्षेत्र मध्ये एक हो । त्यसकारण कुण्डा सबडिभिजन वन कार्यालयको प्राविधिक मार्गदर्शनमा नदी किनारमा बाँस र त्यसभन्दा माथिल्लो क्षेत्रमा बेत रोप्ने काम चलरहेको छ ।

कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत दिनेश कुमार यादवले , बेतबासले माटोको कटान रोकेर नदीको धार नियन्त्रण गर्न सहयोग पुराउने बतउनुभयो । साथै, आगामी वर्षहरूमा यसले समुहका लागि आम्दानीको नयाँ स्रोत निर्माणमा सहयोग पुराउने उहाँ बताउनुहुन्छ ।

स्थानीय उपभोक्ताहरू पनि यो अभियानबाट उत्साहित बनेका छन् । उपभोक्ता समूहकी अध्यक्ष चञ्चला चौधरीले डिभिजन वन कार्यालयले दिएको बिरुवा र कुण्डा सबडिभिजनको निरन्तर सहयोगले आफुहरुलाई आत्मनिर्भर बन्ने बाटो देखाएको बताउनुभयो ।

वृक्षारोपण अभियानले वातावरणीय सन्तुलन कायम गर्न मात्र होइन, सामुदायिक सहभागिता र स्वामित्वको भावना पनि बलियो बनाएकोे छ । दीर्घकालीन दृष्टिकोणले यो योजना समुदायका लागि वातावरणीय न्याय र आर्थिक सशक्तिकरण दुबैको उदाहरण बन्ने अपेक्षा गरिएको छ ।