कञ्चनपुरको पुनर्वास ११ अमरबस्तीमा रहेको श्री अमर गोकुल सामुदायिक वन उपभोक्ता समूहले बुधबार देखीे वन क्षेत्रमा व्यापक सरसफाइ तथा व्यवस्थापन सुरु गरेको छ । यस अन्तर्गत बोटबिरुवा गोडमेल, कटानी, छटानी, सीमाङ्कन तथा डढेलो नियन्त्रणका लागि फायर लाइन निर्माण जस्ता महत्वपूर्ण गतिविधिहरू अघि बढाइएको अमर गोकुल सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ ।

सामुदायिक वन क्षेत्रको दिगो व्यवस्थापन, जैविक विविधताको संरक्षण तथा सम्भावित डढेलो जोखिम न्यूनिकरण गर्ने उद्देश्यले अभियान सुरू गरिएको वन उपभोक्ता समूहका अध्यक्ष मान बहादुर थापाले जानकारी दिनुभयो । यो अभियान उपभोक्ता समूहका लागि वार्षिक रूपमा सञ्चालन हुने प्रमुख कार्यहरूमध्ये एक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा उपभोक्ता समूहका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय संख्यामा उपस्थित रहको थियो । उनीहरूको सक्रिय सहभागिताले सामुदायिक वनप्रति सबैको साझा उत्तरदायित्व र प्रतिबद्धता झल्किएको समूहका अध्यक्ष मान बहादुर थापाले बताउनुभयो ।

समूहले निर्माण गरिरहेको फायर लाइनले आगामी आगलागी सिजनमा वन क्षेत्र सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको वन उपभोक्ता समूहका सचिब सोम बहादुर बानियाले बताउनुुभयोे । साथै, गोडमेल, कटानी र छटानी कार्य नियमित रुपमा सञ्चालन गर्दा वनको स्वास्थ्य, उत्पादन क्षमता तथा दिगो व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको उहाँ बताउनुहुन्छ ।

उपभोक्ताहरूको अमूल्य समय, सुझाब, श्रम तथा सक्रिय सहभागिताले सामुदायिक वन व्यवस्थापनलाई अझ प्रभावकारी र अनुकरणीय बनाउनेमा दुइमत नरहेको समुहका अध्यक्ष थापाले बताउनुभयो । उहाँले उपभोक्ताहरुलाई सदैव सहयोग र सहभागिताका लागि आग्रह समेत गर्नु भएको छ ।