कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भिमबस्ती निवासी राजन बोहरा विगत २० दिनदेखि सम्पर्क बिहिन हुनु भएको छ । रोजगारीका लागि भारतको मुम्बईमा काम गर्न गएका बोहरा अचानक सम्पर्क विहीन भएको परिवारले बताएका छन् । लामो समयसम्म पनि कुनै जानकारी नआएपछि परिवार अत्यन्तै चिन्तित बनेको छ । सार्वजनिक रूपमा खोजी गरीदिन राजनकी श्रीमती भगबती बोहराले अपिल गर्नु भएको छ ।

परिवारका अनुसार राजन बोहरा केही समय अघि मात्रै रोजगारीका लागी भारतको मुम्बई स्थित उरण–भेडखल क्षेत्रमा जानुभएको थियो । उहाँ मुम्बई पुगेको केही घण्टामै हराउनु भएको थियो । साथीको कोठामा सामान छाडेर राति करिब साढे ९ बजे खाना खान बाहिर निस्किनु भएको राजन त्यसपछि कहाँ जानुभयो भन्ने बारे अहिलेसम्म कुनै तथ्य बाहिर नआएको परिबारले जनाएको छ ।

उहाँले प्रयोग गर्ने मोबाइल फोन पनि निरन्तर स्विच अफ रहेको र सामाजिक सञ्जाल तथा अन्य माध्यममा समेत कुनै सक्रियता नदेखिएको परिवारले जनाएको छ । हामीले सम्भावित सबै स्थानमा खोजी गरेउ, सबै चिनजान भएका मान्छेलाई सोध्यौं, तर अहिलेसम्म पनि कुनै जानकारी नआएको भगबती बोहराका दाजु बाबुराम रावलले जानकारी दिनुभयो ।

राजन बेपत्ता भएको खबरले बोहरा परिवारमा ठूलो मानसिक तनाव छाएको छ । निरन्तर बढिरहेको अनिश्चितताका कारण आमा–बुबा, दाजुभाइ तथा आफन्तहरू अत्यन्तै व्यथित बनेका छन् । परिवारले भारत तथा नेपाल दुवै स्थानमा प्रहरीमा जानकारी गराइसकेको र खोजी भइरहेको रावलले बताउनुभयो ।  परिबारले राजन बोहराको बारेमा कुनै पनि प्रकारको सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय अथवा परिवारलाई तुरुन्त जानकारी गरिदिन अनुरोध गरेका छन् ।

सहयोगका लागि सम्पर्क नम्बरहरूः

भारतका लागि : बाबुराम रावल –  7200298741

नेपालका लागि : भगबती बोहरा – 9811628129

बेपत्ता भएका व्यक्तिहरूको खोजीमा नागरिक स्तरबाट प्राप्त हुने साना–साना जानकारीहरू निर्णायक बन्न सक्ने भएकाले राजन बोहराबारे केही देख्नु भएको वा सुन्नुभएको भए तुरुन्त सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।