कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भिमवस्तीमा रहेको पपुलर इङ्लिस बोर्डिङ स्कुलले २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा विद्यार्थी तथा शिक्षकहरुको सहभागितामा धान रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीहरूलाई श्रमको सम्मान, कृषि पेशाप्रतिको आकर्षण तथा नेपाली समाजको कृषि संस्कृतिसँग परिचित गराउने उद्देश्यले विद्यालय परिसर नजिकैको खेतमा सामूहिक धान रोपाइँ गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरू उत्साहपूर्वक हिलोमा उत्रिएर धान रोप्दै कृषिको व्यवहारिक ज्ञान हासिल गरेका थिए ।

विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद न्यौपानेले हिलोमा रोपिएको प्रत्येक धानको बिरुवाले भविष्यको समृद्धिको आशा बोकेको बताउनुभयो। यस्तै कृषि नेपालको अर्थतन्त्रको प्रमुख आधार भएकाले नयाँ पुस्तालाई कृषिप्रति सकारात्मक सोच विकास गराउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

अन्नदाता किसानप्रति सम्मान, कृषि क्षेत्रप्रति प्रेम र समृद्ध नेपालको संकल्पका साथ विद्यार्थीहरूसँगै खेतमै पुगेर राष्ट्रिय धान दिवस मनाउन पाउँदा निकै खुसी लागेको उहाँ बताउनुहुन्छ । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा श्रमको सम्मान, अनुशासन, सहकार्य र उत्पादनशील सोचको विकास हुनेमा दुइमत नरहेको उहाँले जिकिर गर्नुभयो ।

कार्यक्रमका क्रममा शिक्षकहरूले धान खेतीको महत्व, असार महिनामा रोपाइँ गरिनुको कारण, अन्न उत्पादनमा किसानको भूमिका तथा खाद्य सुरक्षा सम्बन्धी जानकारी पनि दिएका थिए । विद्यार्थीहरूले पनि पहिलो पटक बिद्यालयको आयोजनामा यसरी डे«समै धान रोप्न पाउँदा निकै रमाइलो लागेको बताएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा आयोजित यस कार्यक्रमले विद्यार्थीहरूमा कृषि, श्रम र किसानप्रति सम्मानको भावना विकास गराउनुका साथै स्थानीय कृषि संस्कृतिको संरक्षण र प्रवद्र्धनमा समेत सकारात्मक सन्देश दिएको विद्यालयले जनाएको छ ।