कञ्चनपुरको पुनर्वास–लालझाडी भएर बग्ने दोदा नदीमा निर्मणाधीन तटबन्धको काम तीव्र गतिमा अगाडि बढेको छ । हालै सो क्षेत्रमा पुनर्वास नगरपालिकाको उपप्रमुख भुलिया कुमारी राना, प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजाल, वडा अध्यक्षहरू, विपद् फोकल पर्सन ओमनाथ ढकाल, र पत्रकार लगायतको टोलीले स्थलगत अनुगमन गरेका छन् ।

सो क्षेत्रको अनुगमन गर्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले तटबन्धको निर्माण कार्य तीव्र गतिमा अघि बढेको बताउनुभयो । उहाँले तटबन्धको निर्माणले यसपालिको बाढीबाट विगत जस्तो समस्या हुदैन भन्ने अपेक्षा लिएको बताउनुभयो । तटबन्ध निर्माण भएपछि पुनर्वास नगरपालिकाको तटीय क्षेत्रहरूमा हुने बाढीजन्य क्षति न्यून हुने अपेक्षा गरिएको उहाँ बताउनुहुन्छ ।
गत वर्ष दोदा नदीको बाढीले सिम्रिक गाउँ करिब ५ फिटसम्म डुबाएको थियो । स्थानीयबासीहरूले यस वर्ष तटबन्ध निर्माण पछि यस्ता समस्या नहोला भन्ने आशा व्यक्त गरेका छन् ।

जनताको तटबन्ध कार्यक्रम अन्तरगत ८ सय ५० मिटर लामो तटबन्ध निर्माण गर्न ५ करोड ९७ लाख ८७ हजार २६ रुपैयाँमा अमृत कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । तटबन्धको २०८२ साल चैत्र २० गते भित्र बनाइसक्नु पर्ने भएपनी पालिकाको पहलले बर्षातलाई मध्यनजर गर्दै २०८२ असार सम्म सक्ने गरी दु्रत गतीमा काम भैरहेको छ ।