कञ्चनपुरको पुनर्वासमा तीन महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । पुनर्वास–९ मा आयोजित तीन महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको हो । वडाको आयोजनामा सञ्चालित उक्त तालिममा वडा भित्रका ३० जना युवायुवती र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै पुनर्वास–९ का वडाध्यक्ष नरबहादुर विकले अहिलेको युग प्रविधिमा आधारित रहेकाले कम्प्युटर ज्ञान अपरिहार्य भएको बताउनुभयो । अबको जीवन कम्प्युटर बिना अगाडि बढ्न नसक्ने बताउदै अहिलेको समय टेक्निकल युग भएको उहाँ बताउनुहुन्छ । जसका लागि सबै युवायुवती प्राविधिक सीपमा दक्ष हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तीन महिनासम्म सञ्चालन भएको तालिममा ३० जना प्रशिक्षार्थी सहभागी रहेका थिए । तालीमको प्रशिक्षक राहुल विक हुनुहुन्थ्यो । सहभागीहरूले तालिम मार्फत आधारभूत स्तरको ज्ञान आर्जन गर्न सफल भएको बताउँदै आगामी दिनमा डिप्लोमा तहको कम्प्युटर तालिमको व्यवस्था मिलाइदिन वडा अध्यक्षसँग आग्रह गरेका छन् ।

समापन कार्यक्रममा वडासदस्यहरू राजन सुनार, रामबहादुर खाती र मणीनाथ बोगटीको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा कम्प्युटर अपरेटर पवन विक, स्थानीय, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव कालीप्रसाद तिवारीले गर्नुभएको थियो । सहभागीहरूले यस्ता तालिमहरू भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । वडाले समेत यस्ता सीपमूलक तालिमहरूलाई प्राथमिकतामा राखेर थप कार्यक्रमहरू ल्याउने प्रतिवद्धता जनाएको छ ।