धनबहादुर बिक – कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ मा रहेको श्रीनिवास दिव्यधाममा माघ २३ देखि फाल्गुन १६ गतेसम्म अष्टोत्तरशत ( १०८) श्रीमदभागवत सम्पुट पारयण महाअनुष्ठान हुने जनाईएको छ ।  श्रीनिवास दिव्यधामले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त बिषयमा जानकारी दिएको हो ।

झन्डै २३ दिनसम्म सञ्चालन गरिने धार्मिक अनुष्ठानमा राष्ट्र शान्ति, लोक कल्याण तथा भगवानको कृति बढोस भन्ने उदेश्यका साथ उक्त अनुष्ठानको आयोजना गर्न लागिएको दिव्यधामका संरक्षक गोविन्द स्वामीले जानकारी दिनुभयो ।  २३ दिनसम्म निरन्तर सञ्चालन गरिने धार्मिक अनुष्ठानमा भारत लगायत नेपालका विभिन्न क्षेत्र का प्रमुख यज्ञाचार्यहरू आउनुहुने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।

अनुष्ठानमा यज्ञाचार्य अनन्त श्री विभुषित वंगिपुरं नम्बी मठ पीठाधीश्वर श्री रामप्रिय भट्टाचार्य स्वामीजी,  प्रमुख सान्निध्य श्रीमद्देदमार्ग प्रतिष्ठापनाचार्य श्री श्री श्री त्रिदण्डी चिन्न श्रीमन्नारायण रामानुज जीयर स्वामीजी लगायतको उपस्थिति रहनेछ।  यस्तै श्री श्री श्री शठकोष रामानुज जीयर स्वामीजी , वाल्मीकि स्वरूप सन्त शिरोमणि स्वामी अयोध्या धाम,  सर्वशास्त्र विशारद धर्मरत्न साधु भुषण श्री जगन्नाथाचार्य स्वामीजी श्रीधाम वृन्दावनको पनि उपस्थिति रहने आयोजकले जनाएको छ।  यस्तै स्वामी संकराचार्य तथा बागेश्वरधाम स्वामीजी समेत आउन सक्ने पत्रकार सम्मेलन मार्फत श्रीनिवास दिव्यधाम सेवा समितिका सदस्य गोविन्द अवस्तीले जानकारी दिनुभयो ।

२३ दिनसम्म सञ्चालन गरिने धार्मिक अनुष्ठानमा स्वामीजीहरूको  लागि बस्ने उचित व्यवस्थापन, खाद्यान्न अनुष्ठानमा पाल्नुहुने हजारौं भक्तजनहरूलाई भक्ति अनुष्ठामा बस्ने पन्डाल , लगायत बिबिध खर्चका लागि अनुमानित ३ देखि  ४ करोड खर्च लाग्न सक्ने अनुमान गरिएको श्रीनिवास दिव्यधाम सेवा समितिका अध्यक्ष बिस्वनाथ बिष्टले जानकारी दिनुभयो ।

वृहत धार्मिक अनुष्ठान कार्यक्रम गर्ने भनेर योजना गरिएको छ यद्यपि अहिले हामी आर्थिक रूपमा शून्य को अवस्थामा छौ अध्यक्ष बिष्टले बताउनुभयो । उहाँले यस अनुष्ठानमा सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो।

करिब एकदशक अघि स्थापना भएको श्रीनिवास दिव्यधाममा २०७४ सालमा ५१ दिनसम्म यसरी नै धार्मिक अनुष्ठानको आयोजना गरिएको थियो ।  श्रीनिवास दिव्यधामले संकल्प गरेको योजना पूरा भएमा पुनर्वास नगरपालिका देशमै धार्मिक पर्यटनको रूपमा चिनिने बौद्धिक बर्गहरू बताउँछन ।