कञ्चनपुरको पुनर्वास नगरपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जालको पालिकास्तरीय तेस्रो बैठक सम्पन्न भएको छ। पुनर्वास नगरपालिका र एक्सेस परियोजनाको समन्वयमा बुधबार बैठक आयोजना गरिएको हो।

बैठकमा सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने, विद्यालय भर्ना दर बढाउने तथा विद्यालय छोड्ने दर न्यूनीकरण गर्ने विषयमा सरोकारवाला निकायबीच छलफल गरिएको थियो। विशेषगरी विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन आवश्यक पहल, विद्यालयमा बालबालिकाको नियमित उपस्थिति तथा शिक्षामा समान पहुँचका विषयमा सहभागीहरूले धारणा राखेका थिए।

विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विद्यालय, अभिभावक, शिक्षक, स्थानीय तह तथा अन्य सम्बन्धित सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए। बालबालिकाको शिक्षासम्बन्धी समस्या पहिचान गरी त्यसको समाधानका लागि स्थानीयस्तरबाटै निरन्तर पहल गर्नुपर्नेमा समेत छलफल भएको थियो।

बैठकमा बालिका तथा समावेशी शिक्षा सञ्जाललाई आगामी दिनमा अझ प्रभावकारी र निरन्तर रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल गरिएको थियो। साथै सञ्जालमा केही नयाँ सदस्य थप गरिएको जनाइएको छ। सञ्जालमार्फत बालबालिकाका शिक्षा सम्बन्धी समस्या, विद्यालय बाहिर रहेका बालबालिका तथा शिक्षामा पहुँचबाट वञ्चित समूहका विषयलाई प्राथमिकताका साथ उठान गर्ने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन पुनर्वास नगरपालिकाको शिक्षा शाखा प्रमुख शिवराज भट्टले गरेका थिए। उनले विद्यालय, अभिभावक, शिक्षक र अन्य सरोकारवालाबीचको समन्वय तथा सहकार्यलाई बलियो बनाउँदै सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन बालिका तथा समावेशी शिक्षा सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने बताए। सञ्जालले शिक्षासम्बन्धी समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

उनले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउने तथा उनीहरूको नियमित उपस्थिति सुनिश्चित गर्ने खालका कार्यक्रम आवश्यक रहेको बताए। यस्ता प्रयासले विद्यार्थी भर्ना दर बढाउनुका साथै शिक्षामा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी रानाले सबै बालबालिकाले समान रूपमा शिक्षा पाउनुपर्नेमा जोड दिइन्। पालिकाले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन विभिन्न प्रयास गरिरहेको बताउँदै उनले शिक्षा क्षेत्रमा देखिएका समस्याको समाधानका लागि स्थानीय तह, विद्यालय, अभिभावक तथा सरोकारवाला निकायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताइन्।

अझै पनि समाजमा रहेको गरिबी, जनचेतनाको कमी तथा विभिन्न सामाजिक कारणले कतिपय बालबालिका विद्यालय बाहिर रहेको उनको भनाइ थियो। विद्यालय बाहिर रहेका बालबालिकाको अवस्था पहिचान गरी उनीहरूलाई शिक्षाको मूलधारमा ल्याउन सबै पक्षले आफ्नो जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिइन्।

कार्यक्रममा नेपाल अपाङ्ग महिला सङ्घकी प्रतिनिधि अनिता ढुङ्गानाले हालसम्म पालिकामा भएका काम तथा सिकाइका विषयमा प्रस्तुतीकरण गरेकी थिइन्।

बैठकमा सहभागीहरूले बालबालिकाको शिक्षामा पहुँचसँगै विद्यालयमा सुरक्षित तथा समावेशी वातावरण निर्माण गर्नुपर्ने, बालिकाका समस्या तथा आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने र विद्यालय तथा समुदायस्तरमा निरन्तर संवाद आवश्यक रहेको धारणा राखेका थिए।

एक्सेस परियोजना युरोपियन युनियनको आर्थिक सहयोग, पिपुल इन नीड नेपालको प्राविधिक सहयोग तथा एकाउन्टेबिलिटी ल्याब नेपाल, नेपाल अपाङ्ग महिला संघ र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको साझेदारीमा सञ्चालन भइरहेको छ। परियोजनाअन्तर्गत हाल स्वीट नेपालले पनि काम गरिरहेको जनाइएको छ।

बैठकमा एकाउन्टेबिलिटी ल्याब नेपालका जिल्ला संयोजक गंगा भण्डारी, स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनार, एकाउन्टेबिलिटी ल्याब नेपालका सुनिता बिक, नेपाल अपाङ्ग महिला संघका प्रतिनिधि अनिता ढुङ्गाना, विभिन्न विद्यालयका शिक्षक, प्रहरी प्रशासन, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।