कञ्चनपुरको पुनर्वास नगरपालिका भित्रका युवालाई डिजिटल सीप सिकाउने तथा सीप हासिल गरेका युवालाई रोजगारीसँग जोड्ने मुख्य उद्देश्यसहित नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।

‘युवा, उद्यमी र नगरपालिकाका लागि डिजिटल प्रविधि’ विषयमा केन्द्रित रहेर आयोजना गरिएको उक्त कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, युवा, विद्यालयका प्रधानाध्यापक, सहकारीका प्रतिनिधि तथा कृषि र पशुपालनका क्षेत्रमा आबद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि सहित ६० जनाको सहभागिता रहेको थियो । युरोपेली संघ (EU) को आर्थिक सहयोगमा सञ्चालित ‘अनलिसिङ डिजिटल एक्सेलेरेसन एन्ड एम्बिसन अफ नेपाली युथ’ (UDAAN) परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो । सन् २०२६ देखि २०२९ सम्म चार वर्ष सञ्चालन हुने यस परियोजनाले नेपाली युवाको डिजिटल सीप, नवप्रवर्तन, उद्यमशीलता र रोजगारीका अवसर सुदृढ गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा, नगर उपप्रमुख भुलिया कुमारी राना, नगर प्रवक्ता तथा पुनर्वास नगरपालिका–११ का वडाध्यक्ष तुलसी अर्याल, नगरपालिका कर्मचारी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा युवाहरूको सहभागिता रहेको थियो।

नीति संवादमा स्थानीय स्तरमा डिजिटल प्रविधिको पहुँच विस्तार, युवालाई आवश्यक प्राविधिक सीप प्रदान गर्ने, सीप हासिल गरेका युवालाई रोजगारीका अवसरसँग जोड्ने तथा उद्यमशीलता प्रवर्द्धनमा डिजिटल प्रविधिको उपयोग गर्ने विषयलाई प्राथमिकता दिइएको थियो ।

त्यसैगरी, डिजिटल सीप सिक्ने अवसर, आवश्यक उपकरण, इन्टरनेट पहुँच, प्राविधिक मार्गदर्शन तथा प्रविधिको व्यावहारिक प्रयोगमा देखिएका चुनौती पहिचान गरी तिनको समाधानका उपाय खोज्ने विषयमा छलफल गरिएको थियो । स्थानीय सरकारको नीति, योजना, कार्यक्रम तथा बजेटमा समावेश गर्न सकिने व्यावहारिक प्राथमिकताका विषय पहिचान गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको थियो । UDAAN परियोजना चारवटा मुख्य अवयवमार्फत कार्यान्वयन हुँदैछ। PATHSHALA अन्तर्गत कृत्रिम बुद्धिमत्ता (AI), कोडिङ तथा एनिमेसनलगायत डिजिटल सीप विकास गरिनेछ। KARYASHALA मार्फत ह्याकाथन, बुटक्याम्प, मेन्टरसिप तथा इन्क्युबेसनका माध्यमबाट युवाका नवीन विचारलाई व्यावहारिक समाधानमा रूपान्तरण गर्न सहयोग गरिनेछ।

त्यस्तै, KARMASHALA अन्तर्गत इन्टर्नसिप तथा फेलोसिपमार्फत युवालाई कार्यअनुभव र करियरका अवसरसँग जोडिनेछ भने NITISHALA अन्तर्गत नीति संवाद, नवप्रवर्तन तथा नागरिक सहभागितामार्फत डिजिटल शासनमा युवाको सहभागिता सुदृढ गरिनेछ । यस परियोजनामा प्राइम युथ इनोभेसन ल्याब (YILab), हेफर प्रोजेक्ट नेपाल (HPN), NAAMII तथा वुमन इन एनिमेसन (WiA) नेपाल सहभागी संस्थाका रूपमा रहेका छन्।

कार्यक्रमको सहजीकरण पुनर्वास नगरपालिकाका ओमनाथ ढकालले गर्नुभएको थियो भने भने हेफर प्रोजेक्ट नेपालका परियोजना अधिकृत गोपाल भुसालको पनि सहभागिता रहेको थियो।

स्थानीय सरकार, युवा, शैक्षिक संस्था, सहकारी, कृषि तथा पशुपालन क्षेत्रमा आबद्ध संघसंस्था र अन्य सरोकारवालाबीच सहकार्य बढाउँदै युवालाई डिजिटल प्रविधिमा दक्ष बनाउने र उनीहरूले हासिल गरेको सीपलाई रोजगारी तथा उद्यमशीलतासँग जोड्ने दिशामा नीति संवादले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।