नेपालीहरूको महान् पर्व बडा दशैं हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक जीवनको महत्त्वपूर्ण उत्सव हो। असत्यमाथि सत्यको र अन्यायमाथि न्यायको विजयको सन्देश दिने यस पर्वले आपसी प्रेम, सद्भाव, एकता र सहिष्णुताको भावना अभिवृद्धि गर्छ। टीका, जमरा, आशीर्वाद र पारिवारिक मिलनसँग जोडिएको दसैँले हरेक नेपालीको मनमा नयाँ आशा र उत्साह सञ्चार गर्छ।

तर, दशैं हरेक वर्ष आउँछ, हामी सुख, शान्ति र समृद्धिको कामना गर्छौँ। प्रश्न यति मात्र हो—हाम्रा कामना र शुभेच्छाले देशको वास्तविक अवस्था बदल्ने दिन कहिले आउला? यस वर्षको (२०८३) दशैंले केवल व्यक्तिगत सुख र पारिवारिक खुसी मात्र नल्याओस्, सिङ्गो राष्ट्रको भविष्यप्रति नयाँ आशा र विश्वास पनि जगाओस्। देशले विकास र समृद्धिको स्पष्ट बाटो समातोस्। बेरोजगारी, गरिबी र निराशाले थलिएका नागरिकले आफ्नै देशमा सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनोस्। युवाहरू रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता घटोस् र परदेशमा पसिना बगाइरहेका नेपालीहरू स्वदेश फर्केर आफ्नै माटोमा भविष्य निर्माण गर्न सक्ने अवस्था सिर्जना होस्।

यसका लागि सरकारका नीति र कार्यक्रम परिणाममुखी हुन आवश्यक छ। सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र लगानीमैत्री वातावरण निर्माण प्राथमिकतामा परून्। जनताले भाषण र आश्वासन होइन, व्यवहारमै परिवर्तनको अनुभूति गर्न पाऊन्। देशको नेतृत्वले व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राखोस्।

दशैंको धार्मिक सन्देशलाई व्यवहारमा उतार्दै समाजबाट हत्या, हिंसा, अपराध, अन्याय र अत्याचार अन्त्य गर्ने सामूहिक सङ्कल्प गरौँ। रिस, राग, द्वेष, ईर्ष्या र प्रतिशोधको भावना त्यागेर प्रेम, क्षमा, सहिष्णुता र मानवीयताको बाटो रोजौँ। फरक विचार र आस्थाका बीच पनि आपसी सम्मान कायम राख्दै राष्ट्रिय एकतालाई बलियो बनाऔँ।

दशैंको वास्तविक सुन्दरता नयाँ लुगा, मीठो भोजन र निधारको टीकामा मात्र सीमित छैन। यसको सार त टुटेका सम्बन्ध जोड्नु, दुःखीको आँसु पुछ्नु, अन्यायको विरोध गर्नु र समाजमा सकारात्मक परिवर्तन ल्याउनुमा छ। त्यसैले यो पर्व हाम्रो व्यक्तिगत जीवनसँगै सामाजिक र राष्ट्रिय रूपान्तरणको प्रेरणा पनि बन्नुपर्छ।

यस वर्षको बडा दशैंपछि देशले साँच्चै काँचुली फेरोस्। सरकार जनताप्रति उत्तरदायी बनोस्, युवाले देशमै भविष्य देखून्, विदेशिएका नेपाली स्वदेश फर्कन थालून् र प्रत्येक नेपालीको जीवनमा सुख, शान्ति तथा समृद्धिको उज्यालो छाओस्।

अन्त्यमा, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। हाम्रो देशले समुन्नति र समृद्धिको नयाँ यात्रा तय गरोस्। नेपाली जनताका सपना साकार होऊन् र भावी पुस्ताले गर्व गर्न सक्ने नेपाल निर्माण होस्।

विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना!

शेखर सेढाई