कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनीको पोष्टमार्टम रिपोर्ट आएको छ । पोष्टमार्टम रिपोर्ट मार्फत घटनाको सत्यतथ्य सार्वजनिक हुने अपेक्षा गरिएका बेला पोष्टमार्टम रिपोर्टमा नै मृत्युको ठोस कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अहिले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ ।
मृत फेला परेका कलौनीको बाहिरी चोट देखिएको थिएन, पोष्टमार्टम रिपोर्टमा भित्री चोट पनि नदेखिएको प्रहरीले जानकारी दिएको छ । पोष्टमार्टमको रिपोर्टबाट मात्रै घटनाको तथ्य सार्वजनिक हुन नसकेपछि प्रहरीले मुटुको थप परीक्षण गर्ने तयारी गरेको छ । कलौनीको मुटु परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने भएको छ ।  त्यस्तै नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगञ्जमा भिसेरा परीक्षणको तयारी गरिएको छ । कलौनीले प्रयोग गर्दै आएको मोबाइल अझैसम्म प्रहरीले फेला पार्न सकेको छैन। नगर सभापति कलौनी गत शनिवार बिहान मृत फेला परेका थिए।