डडेलधुरा : नेपालमा लोप भइसकेको आशङ्का गरिएको “सानो ओत”१ सय ८५ वर्षपछि सुदूरपश्चिममा फेला परेको छ । डडेलधुराको रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलमा “सानो ओत” फेला परेको हो । सन् १८३९ यता यो प्रजातिको  ओत नेपालमा देखिएको थिएन । लामो समयावधि सम्म “सानो ओत” देखा नपर्नु र अस्तित्वको कुनै ठोस प्रमाण नभेटिनुले पनी नेपालबाट लोप भएको आशङ्का गरिएको थियो ।                                                                                   तस्बिर: राजीव चौधरी

डडेलधुरामा सो प्रजातिको ओत फेला पर्नुले सानो ओतको अस्तित्व अझै कायम रहेको पुष्टि गरेको छ । डिभिजन वन कार्यालय डडेलधुराका वन अधिकृत राजीव चौधरीका अनुसार गत मङ्सिरमा स्थानीयले सानो ओतको छाउरालाई पक्रेर ल्याएका थिए । त्यसपश्चात त्यसको उद्धार गरेर केही दिन पालन पोषण गरेपछि फेरि प्राकृतिक वासस्थानमा छोडेको उहाँले बताउनुभयो । मोहनविक्रम श्रेष्ठ, गङ्गा श्रेष्ठ, हिरूलाल डङ्गौरा, राजीव चौधरी, पूर्णमान श्रेष्ठ, करुण देवान, राजेश सदा, मेलिसा सेभेज र जुओफु सियाङको टोलीले उक्त प्रजाति सानो ओत रहेको पुष्टि गरेको छ । नेपालमा १ सय ८५ वर्षपछि पुनः भेटिएको तस्बिर सहित उहाँहरूको संयुक्त लेख अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको ‘एस.एस.सी ओत स्पेसलिस्ट ग्रुप बुलेटिन’ मा प्रकाशित भएको छ ।