कैलालीको चुरे गाउँपालिका–४ गर्भामा रहेको ९७ वर्ष पुरानो गर्भा दरबार बेवारिसे बनेको छ । राणाकालीन दरबार संरक्षण र प्रयोग नहुँदा जीर्ण हुँदै बेवारिसे बनेका हो । कैयौँ वर्षदेखि प्रयोगमा नआएको दरबार अलपत्र अवस्थामा छ । छाना उप्किन थालेको दरबारको भित्ता पनि भत्किन थालेका छन् । त्यस्तै, झ्याल, ढोका सबै भत्किएका छन् । त्यसमा रहेका मूर्ति चोरी भइसकेका छन् । पर्यटन सम्भावनाको दरबार खण्डहरमा परिणत भएको छ । गर्भा दरबार अत्यधिक जीर्ण छ ।

चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले पुरातत्व विभागले संरक्षण गर्ने आश्वासन दिएको बताउनुभयो । प्रदेश सरकारले १० लाख बजेट दिएको छ । दरबार घेरबारका लागी प्रदेशले बजेट हालेको हो । यो पटक घेरबार हुन्छ । मर्मत गर्न मिल्दैन । सिमेन्टले छुन पनि हुँदैन, पुरातत्व विभागले संरक्षण गर्ने जानकारी आएको उहाँले बताउनुभयो । तत्कालीन राणा शासकहरूले कर उठाउने र मुद्दा मामिला मिलाउने उद्देश्यका साथ यो दरबार बनाएका बुझिएको छ । तर, ९७ वर्ष पुरानो दरबार २४ वर्षदेखि प्रयोग विहीन छ ।