बाँच्न पाउने अधिकारको आधार : खाद्य अधिकार भन्ने मूल नारा सहित कञ्चनपुरको बेलौरीमा खाद्य तथा पोषण सुरक्षा रणनीति योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा बेलौरी नगरपालिका भित्रको खाद्य सम्प्रभुता, खाद्य सुरक्षाको अवस्था सँगै खाद्य अधिकारसँग सम्बन्धित विषयहरूमा चर्चा गरिएको थियो । सो क्रममा खाद्य अधिकार सम्बन्धी देखिएका समस्याहरू र सो समस्या न्यूनीकरणका लागि गरिने पहलहरूका बारेमा समेत चर्चा भएको थियो।

यस्तै बेलौरी नगरपालिकाका कृषि शाखाका प्रमुख सुमन जोशीले नगरपालिका भित्रको कृषिको अवस्थका बारेमा जानकारी गराउनुभयो । बेलौरी नगरपालिकामा विसं २०७५ मा गरिएको सर्वेक्षण र विसं २०७९ मा कृषि शाखाले तयार गरेको प्रोफाइलका अनुसार पालिका भित्र १० देखि १२ महिना खान पुग्ने परिवारको संख्या झन्डै ६ हजार रहेको बताउनुभयो। त्यस्तै ७ देखि ९ महिना खान पुग्ने परिवारको सङ्ख्या ८ सय ८५ रहेको छ । त्यस्तै ४ देखि ६ महिना मात्रै खान पुग्ने परिवारको सङ्ख्या ९ सय ९१ रहेको उहाँले बताउनुभयो । पालिकाभित्र तीन महिना मात्रै खान पुग्ने परिवारको सङ्ख्या १ हजार ३९ रहेको छ । त्यस्तै आफैले उत्पादन गरेर बिक्री वितरण गर्न सक्ने परिवारको संख्या १ हजार ९१ रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै फियन नेपालका कार्यकारी निर्देशक अशोक सिंहले देशभरका ७ सय ५३ वटा पालिकाहरूले यतिबेला खाद्य तथा पोषण रणनीतिक सुरक्षा योजना बनाउँदै गइरहेको बताउनुभयो । नगरभित्रको गरिबीको अवस्था, कुपोषणको अवस्था, भोकमरीको अवस्था सँगै पालिकाभित्र रहेका विपन्नता मा रहेका जातजाति, समुदायको पहिचानका लागि आज भएको कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो। उनीहरूको अवस्था सुधारुन्मुख गर्नका लागि पालिकाले नै कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख जोगाराम चौधरीले राख्नु भएको थियो। स्वागत मन्तव्य राख्ने क्रममा उहाँले खाना नै जीवन भएकाले हामीले खाने खाना कस्तो खाइरहेका छौं? खानामा सबै जनताको पहुँच छ या छैन भन्ने जानकारी कार्यशालाले दिने उहाँले बताउनुभयो । यस्तै खाद्यान्नको सवालमा पालिकाभित्रको अवस्था के कस्तो छ भन्ने विषयमा फियन नेपालले सहयोग गर्नुका साथै पालिकाले गर्नुपर्ने काममा सदैव साथ सहयोग रहने उहाँले बताउनुभयो।

यसै कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले खाद्य अधिकार खाद्य सम्प्रभुता र खाद्य सुरक्षाका लागि फियान नेपालले आफ्नो पालिकालाई छनोट गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । पालिकाभित्रको खाद्यान्नको अवस्था? पालिकाभित्रको खाद्य अधिकारको अवस्था र खाद्य सम्प्रभुताको स्थिति कस्तो रहने भन्ने कुरा निक्योल गर्न यस कार्यशालाले निकै नै महत्वपूर्ण भूमिका खेल्नेमा दुई मत नभएको उहाँले बताउनुभयो । पालिकाभित्र नागरिकको खाद्य अधिकारका सवालहरूको अवस्था पत्ता लगाई आगामी दिनमा रणनीतिक योजना नै बनाएर काम गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बेलौरी नगरपालिकाका जनप्रतिनिधि, सम्पूर्ण शाखाका शाखा प्रमुखहरू, नागरिक समाजका व्यक्तित्व, युवा अभियन्ता, पत्रकार, फियान नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।