कञ्चनपुरको पुनर्वासमा रहेको पुनर्वास सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई बित्तिय साक्षरता, दुधालु पशुपालनको ब्यवस्थापन र गुणस्तरीय दुध उत्पादन सम्बन्धि तालीम दिएको छ ।

शुक्रबार र शनिबार दुई दिन उक्त तालीम सञ्चालन गरीएको सहकारीका ब्यवस्थापक एक कुमार श्रेष्ठले जानकारी दिनुभयो । सहकारीका शिक्षा उपसमितीका संयोजक राजेन्द्र सिं धामीको सभापतित्वमा शुक्रबार दैनिक बचतकर्ता शेयर सदस्यहरुलाई बित्तिय साक्षरता सम्वन्धि तालीम दिइएको थियो । यसैगरी सहकारीका दुग्धडेरी सुपरीबेक्षण उपसमितीका संयोजक बिर बहादुर बोगटीको सभापतित्वमा शनिबार दुधालु पशुपालनको ब्यवस्थापन र गुणस्तरीय दुध उत्पादन सम्बन्धि तालीम दिएको छ ।

दुईवटै कार्यक्रमको प्रमुख अतिथि सहकारीका अध्यक्ष भरत बहादुर विष्ट रहनु भएको थियो । अतिथिको आसनबाट बोल्दै बिष्टले तालीमबाट दुग्ध उत्पादक सदस्य कृषकहरुलाई गुणस्तरीय दुध उत्पादन गर्न मदत्त मिल्ने बताउनुभयो । पछिल्लो समय सहकारी दैनिक औषत ५ सय लिटर दुध संकलन गर्ने गरेको जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले आर्जीत आम्दानीबाट खर्चकम गरी बचत बृद्धी गराउने, कर्जाको सदुपयोग तथा भाकामा कर्जा चुक्ता गर्न उत्प्रेरणा दिने लगायतका विषयहरु तालीममा समाबेश गरीएको जानकारी दिनुभयो ।

दुई दिन सम्म चलेको उक्त तालीममा नेफस्कुनका सुप लेखा संयोजक तथा सहकारी प्रशिक्षक डिल्ली प्रसाद शर्मा र बरिष्ठ पशु चिकित्सक मान बहादुर केसी प्रशिक्षक रहनु भएको थियो । तालीममा सहकारीका सदस्यहरु, बिभिन्न उपसमितीका सदस्यहरु, शेयर सदस्यहरु, स्थानीय बुद्धीजिबिहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।