नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला पुनर्वास पुग्नु भएको छ । ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत पुनर्वास पुग्नु भएका पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि प्रचण्ड सहितको टिमलाई पुनर्वास नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ । स्वागत तथा अभिनन्दन कार्यक्रममा पुनर्वास नगरपालिकाले १० बुदे माग राख्दै प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । पालिकाको तर्फबाट नगर प्रमुख तोय प्रसाद शर्माले पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि प्रचण्डलाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।

ज्ञापन पत्रमा के छ ?

बिगत ५२ बर्ष देखीको पुनर्वास क्षेत्रको विकास जुन गतिमा अघी बढ्नु पर्ने हो सो गतिमा अगाडी बढ्न नसकेको कुरा आत्मसाथ गर्दै सुरुमा योजनाबद्द ढंगले भएको वस्ती विकास, सोहि अनुरुप भएको सडक बिस्तार र सडकका लागी आवश्यक सडक अधिकार क्षेत्र भएको, ठाउँठाउँमा सार्वजनिक स्थल भएको, बिद्यालयहरुका लागी प्रशस्त जमिन भएको, मिश्रित बसोबास गरी ब्यवस्थापन गरिएको आदी अवस्थालाई विष्लेषण गर्ने हो भने विकासको प्रशस्त सम्भावना रहेको पुनर्वास नगरपालिकाको अन्तरिक आय न्यून रहेको र संघिय सरकार, प्रदेश सरकार बाट प्राप्त हुने अनुदानमा मात्र विकास सिमित रहेको ब्यहोरा अवगत गराउदै निम्नानुसारका पुनर्वास नगरपालिकाका गौरबका आयोजना तथा कार्यक्रमहरु बजेट सहित स्विकृत गराउनका लागी अवश्यक पहल गरिदिन हुन अनुरोध गर्दछु।

पुनर्वास नगरपालिकाका गौरबका आयोजना तथा कार्यक्रमहरु :

१. पुनर्वास नगरपालिकाको बिच भागमा रहेको ६५ बिघा क्षेत्रमा भारत सरकारको सहयोगमा प्राविधिक शिक्षालय (आई टि कलेज) स्थापना गर्न यस अघि नै हजुर प्रधानमन्त्रीमा बहाल रहदाका बखत पालिका बाट मागपत्र पेश गरिएको हुँदा सो सम्बन्धमा पुःन ध्यानाकर्षण गराउदै प्रतिपक्षको भुमिकाबाट आवश्यक पहल गरिदिनहुन अनुरोध गर्दछु ।

२. पुनर्वास नगरपालिकाको सबै वस्ती तत्कालिन ग्रामिण आवास कम्पनीले व्यवस्थित रुपमा योजनाबद्द ढंगले वसोवास गराएको हुनाले अधिकांस सडकहरु फराकिला लामा रहेको हुँदा भविष्यमा पुरै पुनर्वास बजारको रुपमा विकसित हुने भएकोले सघन सहरी पुर्वाधार कार्यक्रम लागु गराउनका लागी अवश्यक पहल गरिदिनहुन अनुरोध गर्दछु ।

३. पुनर्वास नगरपालिकाको अधिकांस भु–भाग भारत संग सिमाना जोडिएकाले सिमा बिबादको कारण पटक पटक भारतिय प्रहरी संग बिवाद भै गोविन्द गौतमले सहादत समेत प्राप्त गर्नुपरेको ब्येहोरा अवगत गराउदै कुटनितिक तवरले सिमा समस्याको समाधानका लागी आवश्यक पहल गरिदिनहुन अनुरोध गर्दछु ।

४. खेलकुद रंगशाला निर्माणका लागी नगरपालिकाले डि पि आर सहित नेपाल सरकार समक्ष पटक पटक माग गरिएको तर हालसम्म सुनुवाई नभएको हुँदा सोका लागी आवश्यक पहल गरिदिनहुन अनुरोध गर्दछु ।

५. धनगढी उपमहानगरपालिकाको सिमाना डोकेबजार देखी बेलौरी नगरपालिकाको सिमाना सम्म सडक बत्ती जडान गर्न पहल गर्दिनुहुन अनुरोध गर्दछु ।

६. सुकुम्वासी समस्या समाधानका लागी राष्ट्रिय आवास कम्पनीको नाउँमा फिल्डबुक कायम भएको जमिनको कारण नितीगत समस्या भएकोले उक्त समस्या समाधानका लागी आवश्यक पहल गरिदिनहुन अनुरोध गर्दछु ।

७. धनगढीमा अवस्थित त्रिनगर भन्सारको बेरियलका कारण कन्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ का ४ वटा पालिका पुनर्वास, बेलौरी , बेलडाडी र लालझाडीका बासिन्दाहरुलाई आवतजावत गर्नका लागी र स्थानिय उत्पादनको बजारीकरण गर्न बाधा हुने गरेकाले आवश्यक सहजिकरणका लागी अनुरोध गर्दछु ।

८. पुनर्वास–६ बराल चोक देखी नगरपालिका हुदै वडा न. ५ पशुपती चोक सम्म ४ लेनको सडक निर्माणका लागी आवश्यक बजेट बिनियोजन गर्न पहल गर्दिनु हुन अनुरोध गर्दछु ।

९. वडा नं. ९ स्थित भारतको सिमा संग जोडिएको सामरिक महत्वको प्याराताललाई बाह्य पर्यटकको समेत अकर्षणको क्षेत्र बनाउनका लागी पुर्वाधार निर्माणका लागी पहल गर्न अनुरोध गर्दछु ।

१०. दोदा नदी तटबन्द लगायतका योजना नेपाल सरकारका बिभिन्न मन्त्रालयमा लागत अनुमान सहित पेश गरिएको हुँदा बजेट सहित आगामी आ.ब.मा स्विकृत गराउनका लागी पहल गरी यस पुनर्वास नगरपालिकाको विकास र सम्बृद्धीमा सहयोग गरिदिनहुन अनुरोध  गर्दछु ।

ज्ञापन पत्र बुझ्दै पार्टि अध्यक्ष प्रचण्डले पुनवासको बिकास निम्ती आफुले गर्नुपर्ने कामहरु गर्दै बिभिन्न निकायमा पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अन्त्यमा उहाँले आफु संगै आएको टिमलाई पुनर्वास नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको भन्दै धन्यबद ज्ञापन गर्नुभयो ।