श्रमिकको सहजता र स्वास्थ्यलाई ध्यानमा राख्दै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा श्रमिक विश्राम स्थल निर्माण गरिएको छ । पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले विश्रामस्थलको उद्घाटन गर्दै भारतबाट फर्किएका नागरिक, यातायात क्षेत्रका मजदुर तथा दैनिक ज्यालामा काम गर्ने श्रमिकहरूको सुविधा र सुरक्षालाई ध्यानमा राखेर काम गरेको बताउनुभयो । विश्रामस्थलको निर्माण मार्फत सामाजिक उत्तरदायित्व र श्रमिकमैत्री विकासको दिशामा पालिकाले गम्भीरता देखाएको उहाँले बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजालले श्रमिक विश्राम स्थल निर्माणलाई ‘पुण्यको काम’ भन्दै प्रशंसा गर्नुभयो । श्रमिक विश्राम स्थल सामान्य बिषय जस्तो लागेपनी श्रमिक वर्गको जीवनमा ठूलो राहत हुने उहाँले बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा बोल्द पुनर्वास–११ का वडाध्यक्ष तुलसी अर्यालले विश्रामस्थलसँगै चिसो पानीको समेत व्यवस्थापन गरिएको जानकारी दिनुभयो । गर्मीमा लामो समय काम गर्दा थकान र डिहाइड्रेसन हुन सक्छ, त्यसलाई ध्यानमा राखेर चिसो पानीको सुविधा राखिएको उहाँले बताउनुभयो।

निड्स नेपालको ‘पहुच परियोजना’ अन्तर्गत पुनर्वास नगरपालिकाको समन्वयमा विश्रामस्थल निर्माण गरिएको हो । पछिल्लो समय बढ्दो तापक्रम र गर्मीका कारण सडक तथा सार्वजनिक स्थलमा काम गर्ने श्रमिकहरूको अवस्था विचार गरेर श्रमिक विश्राम स्थल निर्माण गरिएको निड्स नेपालका सह कार्यकारी निर्देशक प्रकासचन्द्र मडैले बताउनुभयो । डोकेबजार क्षेत्रमा यस किसिमको पहल पहिलो पटक भएकाले यसको उदाहरणीय प्रभाव पर्ने र अन्य क्षेत्रहरूमा पनि यस्ता संरचना निर्माणका लागि प्रेरणा दिने विश्वास गरिएको छ ।