कञ्चनपुरको पुनर्वासमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुनर्वास नगरपालिका वडा नंम्बर ५ को आयोजना र पुनर्वास नगरपालिकाको पशु सेवा शाखाको समन्वयमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर भएको हो ।

शिविरमा स्थानीय पशुपालक किसानहरूले गाई, भैंसी, बाख्रा, सुँगुर, कुकुर लगायतका पशुहरूको उपचार, स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक खोप सेवा निशुल्क रुपमा प्राप्त गरेका पुनर्वास ५ का वडा अध्यक्ष पदम बहादुर रोकायाले बताउनुभयो । शिविरमा पशुहरूमा लाग्ने रोगहरूको पहिचान, रोकथाम र घरेलु उपचारबारे जानकारी समेत दिइएको उहाँले बताउनुभयो । शिबिरमा दक्ष पशु चिकित्सक तथा प्राविधिक टोलीले सेवा प्रदान गरेका थिए । शिविरमा सयौँको संख्यामा पशुपालकहरूको सहभागिता रहेको पुनर्वास ५ का वडा अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

पशुपालन व्यवसायमा आधारित किसानहरूको जीवनस्तर उकास्न र पशुमा देखिने रोगहरू समयमै उपचार गर्न यस्ता शिविर अत्यन्त प्रभावकारी हुने सेवाग्राहीहरु बताउछन् ।

यस किसिमको शिविरले स्थानीय समुदायमा पशु स्वास्थ्य प्रति चेतना फैलाउने काम गरेको छ । पशुपालक किसानहरूले शिविरबाट लाभान्वित भएको बताउँदै आगामी दिनमा पनि यस्ता शिविर निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन् ।