पछिल्लो समय थारु समुदायमा देखिएको सिकलसेल एनिमिया र थलेसिमिया रोगको संक्रमण बढ्दै गएको देख्न सकिन्छ । स्वास्थ्य कार्यालय कञ्चनपुर र पुनर्वास नगर पालिकाको समन्वयमा पुनर्वासको तिन ठाउँमा सिकलसेल र थलेसिमिया रोगको पहिचानका लागी शिबिर नै सञ्चालन गरीएको थियो ।  पुनर्वास नगरपालिका वडा नंम्वर १, ५ र ११ मा भएको शिबिरको नतिजा हेर्दा पुनर्वासमा सिकलसेल र थलेसिमियाको अवस्था भयावह देख्न सकिन्छ । अझै पुनर्वासको थारु समुदायको बहुल्यता भएका अन्य वडाहरुमा शिबिर सञ्चालन नै भएको छैन् । यसरी तिन वडाहरुमा शिबिर चलाएर रक्त परिक्षण गर्दा पुनर्वासमा झण्डै १० प्रतिशत मानिसहरुमा सिकलसेल र थलेसिमिया देखीएको छ ।


बैशाख ३१ गते पुनर्वास १ स्थित कालीका स्वास्थ्य चौकीमा आयोजना गरीएको शिबिरमा ४ सय १३ जनाको रगत परिक्षण गर्दा ३४ जनामा पोजेटिभ केस भेट्टीएको स्वास्थ्य कार्यालय कञ्चनपुरका सिकलसेल र थलेसिमिया रोगका फोकल पर्सन सिद्धराज भट्टले बताउनुभयो । यस्तै जेठ १ गते पुनर्वास ५ स्थित त्रिभुवनवस्ती स्वास्थ्य चौकीमा आयोजना गरीएको शिबिरमा २ सय ६३ जनाको रगत परिक्षण गर्दा २० जनामा पोजेटिभ केस भेट्टीएको उहाँले बताउनुभयो । यस्तै जेठ २ गते पुनर्वास ११ स्थित आधारभुत स्वास्थ्य केन्द्र अमरबस्तीमा आयोजना गरीएको शिबिरमा २ सय ९७ जनाको रगत परिक्षण गर्दा ४४ जनामा पोजेटिभ केस भेट्टीएको स्वास्थ्य कार्यालय कञ्चनपुरका सिकलसेल र थलेसिमिया रोगका फोकल पर्सन भट्टले बताउनुभयो ।

यसरी समग्रमा हेर्दा ९ सय ७३ जनाको रगत परिक्षण गर्दा ९८ जनामा पोजेटिभ केस भेट्टीएको छ । पोजेटिभ भेटीएका केसहरुको थप परिक्षणका लागी प्रदेश प्रयोगशाला धनगढी पठाइने उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय कञ्चनपुरका सिकलसेल र थलेसिमिया रोगका फोकल पर्सन सिद्धराज भट्टले पालिका भित्रका अन्य वडाहरुमा शिबिर सञ्चालन गर्न अहिलेलाई बजेट नरहेको बताउनुभयो । आगामी बर्ष प्रदेश सरकारले बजेट बिनियोजन गर्दीए बाँकी वडाहरुमा शिबिर सञ्चालन गर्ने उहाँ बताउनुहुन्छ ।  अहिले पुनर्वासका तिन वडा र भिमदत्तको तिन वडाहरुमा शिबिर सञ्चालन गरीएको उहाँले बताउनुभयो । पालिका भित्र सिकलसेल र थलेसिमिया रोगको शिबिर सञ्चालन गरी रक्त परिक्षण गर्न पालिका बाट नै बजेट बिनियोजन गर्दिए धेरै नै सजिलो हुने उहाँले बताउनुभयो ।

जिल्ला भित्र सिकलसेल र थलेसिमिया रोगका बिरामीहरु कति छन् भन्ने यकिन तथ्याङ्क नभएको बताउदै दक्षिणी क्षेत्रको नागरीकहरुले धनगढी मार्फत औषधी खाइरहेको उहाँ बताउनुहुन्छ । तर धनगढीमा मात्रै २ सय बढीले औषधी गराइरहेको बिभिन्न तथ्याङ्कले देखाएको छ । तसर्थ समग्रमा जिल्लागत रुपमा हेर्दा १५ प्रतिशत भन्दा बढी मानिसहरुमा संक्रमण रहेको वास्थ्य कार्यालय कञ्चनपुरका सिकलसेल र थलेसिमिया रोगका फोकल पर्सन भट्टले बताउनुभयो ।