कञ्चनपुरको पुनर्वासमा युवाहरूका लागि तीन दिने क्षमता विकास तथा नवप्रवर्तन कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय कञ्चनपुरको आयोजनामा स्वर्गीय जयराज भट्ट क्षमता विकास तथा नवप्रवर्तन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाबाट दश–दश जना गरी कुल तिस जना युवाहरकोे सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालयका प्रमुख गोपाल दत्त जोशीले युवाहरूको सक्रियता नै समृद्ध समाजको आधार भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले युवा वर्गमा सकारात्मक सोच र व्यवहार निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा सहभागी युवाहरूले पनि यस्तो कार्यक्रमले उनीहरूलाई आत्मविश्वासी बनाएको, सामुदायिक नेतृत्वका लागि प्रेरणा दिएको बताएका छन् । उनिहरुले क्षमता विकास तथा नवप्रवर्तन कार्यक्रमबाट सामाजिक कार्यमा संलग्न हुन उत्साहित भएकोे प्रतिक्रिया दिएका छन् ।

सामाजिक विकास कार्यालयले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ । कार्यक्रमको उद्देश्य युवाहरूलाई सामाजिक चेतना, नेतृत्व क्षमता र नवप्रवर्तनका विषयमा सक्षम बनाउनु रहेको थियो । तीन दिनसम्म चलेको कार्यक्रममा युवा नेतृत्व विकास, समाजमा व्याप्त कुरीति र कुसंस्कारको अन्त्य, लागू औषध दुव्र्यसन नियन्त्रणमा युवाको भूमिका, तथा विकास निर्माणमा युवाको सक्रिय सहभागिताका विषयमा गहन छलफल गरिएको थियो ।