गणतन्त्र दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुरमा वृक्षारोपण गरी राष्ट्रिय पर्वको रुपमा मनाएको छ । सरकारले गणतन्त्र दिवस जेठ १४, १५, र १६ गते गरी तीन दिन मनाउने निर्णय गरेपछि देशभर विविध कार्यक्रमहरू आयोजना भइरहेका छन् ।

यसै क्रममा, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर तथा मातहतका इकाइहरूले वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको सशस्त्र प्रहरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले बताउनुभयो । गण तथा मातहतका इकाइहरूले गरी जम्मा ३ सय ५५ वटा बिरुवा रोपिएको उहाँले बताउनुभयो । तीमध्ये १ सय ९८ वटा फलफूलका बिरुवा छन् भने १ सय ५७ वटा अन्य प्रजातिका बिरुवा रहेको सशस्त्र प्रहरी उपरीक्षक भट्टले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस मझगाउँ, प्रस्तावित सीमा सुरक्षा गुल्म बेलौरी, देवीस्थान, गड्डाचौकी लगायत अन्य बोर्डर आउटपोस्ट (बीओपी) हरूमा पनि सञ्चालन गरिएको थियो । वृक्षारोपण गरिएको बिरुवा संरक्षणका लागि नियमित हेरचाह तथा व्यवस्थापन गरिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा गरिएकोे कार्यक्रमले वातावरण संरक्षण, जैविक विविधताको प्रवद्र्धन तथा हरियाली विकासमा टेवा पुराउने विश्वास गरिएको छ ।