पुनर्वास : गणतन्त्र दिवसको अवसर पारेर कञ्चनपुरको पुनर्वास नगरपालिकाले विशेष कार्यक्रम गर्दै कार्यालय परिसरमा सरसफाई तथा वृक्षारोपण गरेको छ । साथै नगरपालिकाका कर्मचारीहरूबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता पनि गरिएको छ । नगरपालिकाको अग्रभागमा गोलमहर फुलका २५ वटा बिरुवा रोपिएको छ ।


सरसफाई र वृक्षारोपण कार्यक्रम पश्चात बोल्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले वातावरणीय सन्तुलन र कार्यालयको सौन्दर्य वृद्धिका लागि वृक्षारोपण गरिएको बताउनुभयो । गोलमहर जस्ता रङ्गीन फूलहरू नगरपालिकाको प्रवेशद्वारमै रोपिएको हुँदा यसले सुन्दरता थप्ने काम गरेको उहाँले बताउनुभयो ।

कार्यक्रम पछि बोल्दै प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजालले देशभरका स्थानीय तहहरूमा गणतन्त्र दिवसका अवसरमा विविध कार्यक्रमहरू भइरहेको जानकारी दिनुभयो । “पुनर्वास नगरपालिकाले पनि आफ्नो आवश्यकता र वातावरण अनुसारको कार्यक्रम तय गरेर यो दिवस अर्थपूर्ण तरिकाले मनाएको उहाँले बताउनुभयो ।

नगरपालिकाको प्राङ्गणमा गरिएको वृक्षारोपण सँगै सरसफाई अभियानले स्थानको सौन्दर्य र वातावरणीय प्रभावमा सकारात्मक असर पर्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।


वृक्षारोपण र सरसफाई कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लगायत कर्मचारी जनप्रतिनिधि र बीओपी आपतालको सशस्त्र प्रहरीको टोलीसमेत सहभागी भएको थियो।  गणतन्त्र दिवसलाई स्मरणीय बनाउन पुनर्वास नगरपालिकाले सरसफाई, वृक्षारोपण तथा विशेष कार्यक्रम गरी  मनाएको छ ।नगरपालिकाको अग्रभागमा गोलमहर फुलका २५ वटा बिरुवा रोपिएको छ।