कञ्चनपुरको पुनर्वासमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सहायक सामग्रीहरु वितरण गरिएको छ । पुनर्वास नगरपालिका र मर्सिकोर नेपालको आर्थिक सहयोग तथा एनएनएसडब्लुए कञ्चनपुरको प्राविधिक सहयोगमा २० जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्रीहरू प्रदान गरिएको हो ।

सहायक सामग्री वितरण कार्यक्रममा बाल्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले सहायक सामग्रीहरूको सदुपयोग र संरक्षणमा परिवारका अन्य सदस्यहरूको समेत जिम्मेवारी रहेको बताउनुभयो । उहाँले सहायक सामग्री बितरण कार्यक्रम आवश्यकता लाई मध्यनजर गर्दै भविष्यमा पनि निरन्तरता दिने बताउनुभयो । उहाँले कार्यक्रममा सहयोग पुराउने मर्सिकोर नेपाल र एनएनएसडब्लुए कञ्चनपुर प्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा बाल्दै प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजालले सहायक सामग्रीको महत्व र आवश्यक्तालाई ध्यानमा राखेर बितरण गरीएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले सामग्री वितरण गरिएको उहाँ  बताउनुहुन्छ ।

कार्यक्रममा एनएनएसडब्लुएका वरिष्ठ समन्वय अधिकृत टेकबहादुर बुढाले फरक–फरक आवश्यकता अनुसार सामग्रीहरु वितरण गरिएको जानकारी दिनुभयो । ४० हजार रुपैयाँ बराबरको ह्वीलचेयर सात जनालाई, ३१ हजार ५ सय मूल्य बराबरको ट्राइ साइकल ६ जनालाई वितरण गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै, पाँच हजार रुपैयाँ बराबरको वाकर एक जनालाई बितरण गरीएको छ भने १ हजार ८ सय रुपैयाँ बराबरको सेतो छडी तीन जनालाई गरिएको वितरण उहाँले बताउनुभयो ।

यस्तै १ हजार ६ सय ७५ मुल्य बराबरको एल्बो क्लच एक जनालाई, र १ हजार २ सय ५० रुपैयाँ बराबरको वाकिङ स्टिक दुई जनालाई प्रदान गरिएको छ । पालिकाले गत बर्ष पनी २९ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेको जनाएको छ । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।