कञ्चनपुरको पुनर्वास नगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै विशेष कार्यक्रमको गरेको छ। आइतबार पुनर्वास नगरपालिका सभा हलमा सम्पन्न घोषणा सभामा पालिकाले शून्यदेखि ५९ महिनासम्मका बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरेको जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै, जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले सम्पूर्ण सरोकारवाला पक्षको सहकार्यले मात्र पूर्ण खोप सुनिश्चितता सम्भव भएको बताउनुभयो । यो आर्थिक वर्षमा कञ्चनपुर जिल्लामा हालसम्म तीनवटा पालिकाले मात्रै पूर्णखोप सुनिश्चितता गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश जोशीले खोप सुनिश्चितता बालस्वास्थ्य सुरक्षाको मुख्य आधार रहेको बताउनुभयो । खोप बालबालिकाको रोगसँग प्रतिरक्षा गर्ने माध्यम भएको बताउँदै कसैले पनि आफ्ना बच्चाहरूलाई लगाउनुपर्ने खोप छुटाउन नहुने बताउनुभयो।

यस्तै कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले खोप अभियान सफल बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी र समुदायको संयुक्त प्रयासलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले अबका दिनमा पनि खोप अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो पालिकाभित्र कोही पनि खोपबाट वञ्चित हुन नपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले शून्यदेखि १५ महिनासम्मका १ हजार १ सय ३३ बालबालिकामध्ये १ हजार १ सय १९ जनाले खोपकार्ड प्राप्त गरेको बताउनुभयो । बाँकी खोपकार्ड नभएका १४ जना, खोप नलगाएका २ जना र ड्रपआउट ३२ जना बालबालिकालाई समेत खोप लगाइ सकिएको उहाँले जानकारी दिनुभयो।

त्यस्तै, १६ देखि ५९ महिनासम्मका ३ हजार ८८ बालबालिकामध्ये ३ हजार ४१ जनाले पूर्ण खोप प्राप्त गरिसकेको स्वास्थ्य शाखा प्रमुख धामीले बताउनुभयो । उहाँले सो उमेर समूह भित्र खोप नलगाएका १ जना र ड्रप आउट ४६ जनालाई समेत खोप सेवा दिइएको बताउनुभयो ।

यस पूर्णखोप सुनिश्चितता घोषणासभाले पुनर्वास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिकाको रूपमा उभ्याएको छ। पूर्णखोप सुनिश्चिता घोषणा गर्न सहयोग पुर्‍याउने पुनर्वास नगरपालिकाका ११ वटा आधारभूत वडा स्वास्थ्य केन्द्रलाई समेत पालिकाले सम्मान गरेको छ।