सिद्धदेवी ग्रामीण विद्युत सहकारी संस्था DK 3 ले विद्युतीय समस्या समाधान गर्नका लागि नयाँ ५० केभी क्षमताको ट्रान्सफर्मर जडान गरेको छ। लगातार गुनासा आइरहेका पावरको समस्या, लोडसेडिङ र ओभरलोडका समस्यालाई मध्यनजर गर्दै सहकारीले उक्त ट्रान्सफर्मर जडान गरेको हो।

उक्त कार्य पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा र सहकारी संस्थाको समन्वयमा सम्पन्न भएको हो। सहकारीका अध्यक्ष प्रेम सिंह ठगुन्नाले ट्रान्सफर्मर उपलब्ध गराएकोमा पुनर्वास नगरपालिकाप्रति आभार व्यक्त गर्दै स्थानीयको लागि यो एक महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। नयाँ ट्रान्सफर्मरको जडानले स्थानीय बासिन्दाले भोग्दै आएका विद्युतीय समस्याहरू समाधान गर्न मद्दत मिलेको अध्यक्ष ठगुन्नाले बताउनुभयो ।

पुनर्वास नगरपालिका वडा नं. ११ का अध्यक्ष तथा नगरप्रवक्ता तुलसी अर्यालले सिद्धदेवी सहकारी सहित अन्य स्थानहरूमा पनि नयाँ ट्रान्सफर्मर जडान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिकाले विद्युत सेवा विस्तार तथा सुधारका लागि निरन्तर पहल गर्दै आएको छ।
ट्रान्सफर्मर जडान भएपछि स्थानीयवासीले खुसी व्यक्त गर्दै दैनिक जीवन र व्यवसायमा सुधार आउने विश्वास व्यक्त गरेका छन्। यसले विद्युत सेवाको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ। यो कदमले पुनर्वास क्षेत्रको विद्युतीय पूर्वाधारमा थप सुदृढता देख्न सकिन्छ ।