कञ्चनपुरको पुनर्वास–१० स्थित भिमविकास वस्तीमा रहेको बिजय माध्यामिक विद्यालयमा गुरु पूर्णिमा विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कक्षा सात र आठमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा भएको उक्त कार्यक्रममा शिक्षक प्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गरिएको थियो ।

कार्यक्रमको उद्घाटन पुनर्वास–१० का वडाध्यक्ष सुकदेव रानाले गर्नुभएको थियो । उद्घाटन गर्दै बडाध्यक्ष रानाले शिक्षकहरू समाजको मेरुदण्ड भएको बताउदै यस्तो संस्कारले शिक्षाको स्तरीयता र विद्यार्थीको नैतिकता दुवै बढ्ने बताउनुभयो । आफु पनी सोही बिद्यालयको छात्र रहेको बताउदै आफ्नो समयमा पढ्न आउदा घरबाट ओछ्याउने गुन्द्री बोकेर आएको स्मरण गर्नुभयो । अहिले आएर पालिकामा एसइइको राम्रो नतीजा ल्याउने तेस्रो बिद्यालय बन्न सफल भएको बताउदै सबै शिक्षक–शिक्षिकाहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भवानी दत्त अवस्थीले बिद्यार्थीहरूलाई जीवनमा अनुशासन, मेहनत र इमान्दारीको बाटो अपनाउन प्रेरित गर्दै गुरु बिना कुनै पनि लक्ष्यमा पुग्न नसकिने बताउनुभयो । उहाँले जीवनमा पाँच गुरुहरु सदैब आवश्यक हुने    बताउनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका शिक्षक मणीरत्न शर्माले गुरु पूर्णिमाको ऐतिहासिक र धार्मिक महत्वबारे बताउनुभयो । गुरुहरु बिद्यार्थीका लागी ज्ञानको उज्यालो देखाउने दीप भएको बताउदै उहाँहरूको योगदान कहिल्यै भुल्न नहुने बताउनुभयो । उहाँले बिद्यार्थीहरुमा यसरी आफै अग्रसर भएर कार्यक्रम गरेको देख्दा खुशि लागेको बतउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै बिद्यालयका शिक्षक शेर बहादुर विकले बिद्यार्थीहरूको समर्पण र सम्मान प्रति खुशी व्यक्त गर्नुभयो । यसरी गरीएको कार्यक्रमले शिक्षक र विद्यार्थीबीचको सम्बन्ध अझै मजबुत बनाउन ठूलो भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रमका सभापती तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगनसिंह धामीले सबै बिद्यार्थीलाई संस्कार र शिक्षासँगै अनुशासनमा पनि उदाहरणीय बन्न आग्रह गर्नुभयो । उहाँले गुरुहरूको सम्मान गर्नु नै सफलताको पहिलो खुड्किलो भएको बताउनुभयो । बिद्यार्थीहरुले यसरी अग्रसर भएर गर्ने कार्यक्रमहरुमा सदैब आफ्नो साथ रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बिद्यार्थीहरूले नाटक, कविता, नृत्य लगायत विविध सांस्कृतिक प्रस्तुति दिएर शिक्षकमाथि कृतज्ञता प्रकट गरेका थि ए। कार्यक्रममा विद्यालयका अन्य शिक्षक, अभिभावक, स्थानीय बासिन्दा तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।