कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा अवस्थित पृथ्वी पशुपालन महिला सहकारी संस्था लिमिटेडको आयोजनामा तीन दिने सहकारी शिक्षा तालिम शुक्रबार सम्पन्न भएको छ । तालिमको समापन पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाको प्रमुख आतिथ्यमा गरिएको हो ।  समापन समारोहमा बोल्दै उपप्रमुख रानाले सहकारी मार्फत आर्थिक समृद्धिको ढोका खोल्न सकिने बताउनुभयो । महिलाहरूको नेतृत्वमा संचालित यो सहकारीहरूले स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उक्त तालिममा सहकारी संस्थाका शेयर सदस्य तथा वडा समूह प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । प्रशिक्षण अवधिभर सहभागीहरूले सहकारीका आधारभूत सिद्धान्त, सहकारी सञ्चालनमा अपनाइने विधि, लेखाप्रणाली, पारदर्शिता, वित्तीय अनुशासन, समूह व्यवस्थापन, नेतृत्व विकास र सहकार्यको महत्वबारे गहिरो ज्ञान हासिल गरेको बताएका छन् ।

यस्तै कार्यक्रममा बोल्दै पृथ्वी पशुपालन महिला सहकारी संस्था लिमिटेडको अध्यक्ष निर्मला बिष्टले तालिमको उद्देश्य र सफल कार्यान्वयन बारे जानकारी दिँदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै, आगामी दिनमा अझ व्यावसायिक र व्यवहारिक तालिमहरू सञ्चालन गर्ने योजना रहेको समेत उहाँले बताउनुभयो ।

तालीममा ४५ जनाको सहभागीता रहेको थियो । तालीममा कारीतास नेपाल कञ्चनपुरका सयोजक थेगुरा चौधरी मुख्य प्रशिक्षक हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन सहकारीको ब्यवस्थापक पुष्पा कुमारी रोकायाले गर्नुभएको थियो ।