कञ्चनपुरको पुनर्वासमा कृषि र पशु बिकासमा आधारीत “साना किसान युवा उद्यमशीलता विकास कार्यक्रम” लागु भएपछी झण्डै २ हजार घरधुरी लाभान्बीत भएका छन् । पुनर्वास नगरपालिका, हेफर प्रोजेक्ट नेपालको साझेदारीमा निड्स नेपालद्धारा ८० वटा महिला स्वावलम्बन समूह नै बनाएर पालिकाको ११ वटा वडामा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । उक्त कार्यक्रम लागु भएपछी समुहका सदस्यहरुलाई आधारशिला तालीम दिनुका साथै प्रजनन् योग्य उन्नत जातको बोका र बाख्रा बितरण गरीएको छ । हालसम्म २ सय ६ घरधुरीलाई बाख्रा र ३७ घरधुरीलाई प्रजनन योग्य बोका बितरण गरीसकेको छ । पुनर्वास –४, आनन्द टोलकी सिता खत्रिको जीवनमा आधारीत रहेर हामीले उनको भोगाइलाई कथा मार्फत प्रस्तुत गरेके छौ । 

कञ्चनपुरको पुनर्वास नगरपालिका–४, आनन्द टोलकी सिता खत्रिको जीवन एउटा यथार्थ चित्र हो, जसमा अभाव, आँसु, संघर्ष र साहसको अद्भुत संगम पाइन्छ । करिब ४० वर्ष पार गरिसकेकी सिता एक सामान्य महिला हुन्, तर उनको जीवन यात्रा असामान्य छ, न घरमा श्रीमान् छन्, न स्थायी आयको स्रोत, न त आफ्नै जमिन । छन् त केवल दुई नाबालक सन्तान, एउटा बाख्रा र एक बलियो मनोबल ।

श्रीमान अपाङ्ग छन्, महिनौं देखि सम्पर्क बिहीन । जेठो छोरा भारतमा मजदुरी गर्छ, कहिलेकाहीं दुईचार रुपैयाँ पठाउँछ । बाँकी जति खर्च, सिताकै काँधमा छ । कुनै बेला रक्सी बनाएर बेच्नु परेको, कहिले छिमेकीको भरमा गुजारा चलाउनु परेको, कहिले खोलेको भरमा भोक मेटाएको, यस्तै घटनाहरूले भरिएको छ उनको विगत ।

तर यही कठिनाइका बीच एक उज्यालो झिल्को बनेर आयो — गाउँमा गठन भएको “हरियाली स्वावलम्बी महिला समूह” यही समूहको सदस्य बनेर सिता एक दिन एउटा बाख्रा उपहारमा पाउँछिन् । त्यो दिनले सायद उनको जीवनको दिशा बदलिदियो । पहिले अधियामा पालेको बाख्रामा आधा–आधा भाग बाँड्नु पर्ने, साहुको गाली सहनु पर्ने दिनहरू सकिए । अब आफ्नै बाख्रा, आफ्नै पसिना, अनि आफ्नै मिहिनेतबाट भविष्य निर्माण गर्ने बाटो खुलेको छ ।

सिता भन्छिन्, अब म आफै बाख्राको मालिक बनेकी छु । उपहार स्वरूप पाएको बाख्राबाट बच्चा हुर्काउने, बेचेको पैसाले छोरा–छोरीलाई पढाउने ठूलो धोको छ । घर सानो टिनको दुई कोठे छ, बिजुली र धारो त जोडिएको छ तर अझै चर्पी छैन । सिता चाहन्छिन्, नगरपालिकाले एउटा सुधारिएको बाख्राको खोर बनाइदिए उनको लागि त्यो भगवानको वरदान हुनेछ ।

सिता अब आत्मविश्वासी बनेकी छन् । बाधा छ तर डर छैन, अभाव छ तर अठोट बलियो छ। उनी एक उदाहरण हुन् – जसले प्रमाणित गर्छिन्, यदि मनमा दृढ इच्छा शक्ति छ भने, अभाव बीच पनि सम्भावनाको नयाँ इतिहास लेख्न सकिन्छ ।

यो केवल सिताको कथा मात्र होइन, यो गाउँ–घरका सयौं महिलाहरूको आवाज हो ।